फेरि कोरोना–सावधानी जरुरी

नेपाल सरकारले कोभिड १९ महामारीको सन्दर्भलाई पुनः अघि सार्दै परिस्थितिजन्य कारणले सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गरेको छ । केही समययता छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस संक्रमणले पुनः गति लिन थालेको परिदृश्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना स्वास्थ्य मापदण्डलाई फलो गर्नुपर्ने जनाएको छ । सरकारले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाडजस्ता भीडभाड गर्ने व्यवसाय र कार्य नगर्न पनि आग्रह गरेको छ ।

कोराेना भाइरस संक्रमणविरुद्ध खोपको विकास भई खोप लगाउने काम बढ्दै गएपछि संसारमा कोरोनाको भय हराउँदै गएको थियो । तर पछिल्लो समयमा कोरोना भाइरसले पुनः टाउको उठाउन थालेसँगै कोरोनाको त्रासले पनि ठाउँ लिन थालेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले नेपालमा पनि संक्रमण बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

संयोगवश आजै (आइतबार) भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्जकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको समाचार छ । संक्रमणको खतरा उत्पन्न हुन वा संक्रमण बढ्न नदिन मास्क लगाउने, हात धुने, भौतिक दूरी कायम राख्नेजस्ता सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

संसारमा अहिले कोरोनाको अपडेट के छ भने अहिलेसम्म कुल १२ करोड ३५ लाख ४७ हजार ६७० कोरोना संक्रमित फेला परेको तथ्यांक छ । तीमध्ये २७ लाख २३ हजार ७०८ जना संक्रमितको मृत्यु भयो भने ९ करोड ५२ लाख १० करोड २२ लाख ५१ हजार ९५३ जना निको भए । २ करोड १२ लाख ९५ हजार ७१७ जना अहिले उपचाररत छन् । कोरोना संक्रमण र मृत्युको वर्तमान हालचाल के छ भने चालू मार्च महिनाको १ गते यता दैनिक नयाँ केस फेला परेको संख्या न्यूनतम २ लाख १७ हजार ९५८ छ भने अधिकतम ५ लाख ५० हजार ५४ छ ।

त्यस्तै कोरोनाको कारणले दैनिक मृत्युको ट्रेण्डको हकमा यो मार्च महिनामा न्यूनतम ६ हजार ९२ छ भने अधिकतम १० हजार २०५ रहेको छ । यो तथ्य र तथ्यांकले के बताउँछ भने भलै कोरोनाविरुद्धको खोप लगाउन पाएकाहरू सुरक्षित छन् तर खोप लगाउन बाँकी रहेकाहरूको स्थिति संक्रमणको खतराबाट मुक्त छैन ।

छिमेकी मित्र राष्ट्र भारतको अवस्था के छ भने मार्च महिनामा कोरोनाको विस्फोटले दोस्रो गति लिन थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको ४३ हजार ८४६ केस सामुन्ने आएको छ । जबकि १९७ जनाको मृत्यु भएको छ । कोरोनाबाट महाराष्ट्र र दिल्ली बढी प्रभावित छन् भने भोपाल, इन्दौर र जबलपुरमा लकडाउन लगाउनुपरेको छ ।

नेपालमा अहिलेसम्म २ लाख ७५ हजार ९०६ वटा संक्रमित फेला परेको छ । तीमध्ये ३ हजार १६ जनाको मृत्यु भएको छ भने २ लाख ७१ हजार ९२१ जना निको भएका छन् । ९६९ जना उपचाररत छन् । पछिल्लो दैनिक स्थितिको आकलन गर्ने हो भने चालू मार्च महिनामा दैनिक न्यूनतम ६९ र अधिकतम ११४ जना संक्रमित फेला परिरहेको अवस्था छ । यो मार्च महिनामा १० जनाको मृत्यु भएको छ ।

आइतबार निधन भएको नेपालगन्जको घटनाको तथ्य के छ भने स्वास्थ्यमा सामान्य समस्या आएपछि मध्य माघमा नै पीसीआर परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको थियो । त्यहाँदेखि उनी कोभिड आइसोलेसनको आईसीयू कक्षमा उपचार गराउँदै आएको र रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापी, रेमडेसिभिरलगायत सबै प्रकारको आवश्यक सपोर्टमा भेन्टिलेटरमा राखेर पनि उपचार गरियो तर पनि उनलाई बचाउन सकिएन ।

यी सबै वस्तुस्थितिलाई हेर्दा कोभिडको निरोधात्मक उपाय थालिए पनि उपचारमा ढुक्क हुने स्थिति छैन । त्यसैले सबैले सतर्कता अपनाउन आवश्यक देखिएको छ । बाहिर निस्किँदा मास्क लगाउने कार्यमा लापरबाही देखाउनु ठीक छैन । सकेसम्म भौतिक दूरी बनाएरै कामकाज गरौं । हात धुने बानी न छोडौं ।

Author:



क्याटोगरी छान्‍नुहोस