गुड नाइट होली 

होली पर्वको विषय र सन्दर्भमा समाचार, लेख, रचनामा जे जति पढ्नु, सुन्नु, हेर्नुपर्ने हो त्यो सबै हामी होली मनाउनुअघि नै पूरा गरी सक्छौं । तर होली पर्वको दौरान हामीले के कसो ग¥यौं त्यो कुराको बारेमा त्यति चासो राख्दैनौं । होलीका कतिपय रोमाञ्चकारी घटना, जो बारबार दोहोरिनसक्दैन, त्यो हामीले जीवनभर सम्झिरहेका हुन्छौं । होलीमा यदाकदा दुखःद घटना पनि घटित हुन्छ । सानातिना झडप आम घटना मानिन्छ । हरेक पर्वमा नारा हुँदैन । होलीमा नारा पनि छ—‘बुरा ना मानो होली है ।’ तर बुरा मान्नु नै पर्ने किसिमको घटनाले पनि मानसिक चोट पु¥याएर गएको हुन्छ । बागलुङ, बलेवाको होली मेलामा, त्यो दुखःद घटना हुननपर्ने घटना हो । होली आननदको विषय हो, अन्त्यको होइन ।

होलीले मानिसलाई अरू चाडपर्वको भन्दा बढी सक्रिय तुल्याएको हुन्छ । चाडबाड मनाउने स्वतन्त्रताउपर कुनै जाँच छैन । तर होली अलि अलि स्वच्छन्द बन्न खोजेको हुन्छ । होलीको रङ्गमा सिंगो समुदाय नै डुबेको हुन्छ । होलीको उमंगले जसरी उँचाइलाई छुँदै गएको हुन्छ, त्यसरी नै केटाकेटी, तरुण, युवा, वयस्क, बुढा आदि सबै उमेरका नरनारीहरू पारम्परिक मर्यादा र हिच्किचाहटहरूलाई छाडेर होलीको रङ्गरूटमा डुब्दै गएका हुन्छन् ।

होलीको बिहानी सबैको पर्वको पूर्वतयारीमा खर्च हुन्छ । तर केटाकेटीलाई भने यो कुराले छोएको हुुँदैन । उनीहरू रङ्ग र पिच्कारी लिएर आफ्नो संगतिमा पुगिसकेका हुन्छन् । भगवत्पूजा र भोजनको तयारी सँगसँगै चलेको हुन्छ । मध्यान्हमा ठीक्क, मानिसहरूले मनपरेका व्यञ्जनहरूको स्वाद लिई रहेका हुन्छन् । खानपानको दौर लगभग एक पहरको हुन्छ । त्यसपछि त कोही मस्त देखिन्छन्, त कोही मात्तिएको । उता माताहरू पनि माम खाने काममा व्यस्त हुन पुग्छन् । त्यसपछि दिनको चौथो पहर सुरु हुन्छ । सबै ठीक्क परेर, गोजीमा अबिर बोकेर बाहिर निस्कन्छन् र त्यसपछि सुरु हुन्छ होलीउत्सवको रोमाञ्चकारी छन् ।

मानिस–मानिस बीचको भेद टुट्को हुँन्छ । बोल्न सुरु नभइसकेकाहरू पनि होलीको चमत्कारिक माहौलमा यसरी अकस्मात बोल्दिहाल्छन्, कि हिच्किचाहटले पत्तै पाउँदैन । पुरुष र नारीको आआफ्नै झुण्डहरू होलीको आत्मरतिमा सर्वतको चिनी झैं घुल्लिन्छन् । रङ्गको विविधतामा रङ्गारंग हुन्छन् । रंग र अबिरको खेलमा सायद मानिसले आपसी विभेद त के आफ्नो पहिचानसमेत गुमाउन पुग्छ । अनि मानिस मानिसको असलियत पनि सामुन्ने आउन थाल्छ । होलीको ताप क्रमशः बढ्दै गएको हुन्छ । मानिस झुम्न थाल्छ, बर्बराउन थाल्छ, नाच्न थाल्छ, गाउन थाल्छ । ढोल, मजिरा, नृत्य, गीत र जोगिडाले शनैः शनै. उसलाई नयाँ दुनियामा लैजान्छ । उसलाई आनन्दलोकमा पु¥याउँछ, जहाँ मनोरञ्चन पनि निरर्थक हुन्छ । जहाँ कुनै दुःख हुँदैन, केबल स्वयं हुन्छ र संगीत हुन्छ । वास्तवमा वर्षदिनमा होली मात्र यस्तो अवसर हो, जहाँ मानिसले तयारी गरेर आनन्द मनाएको हुन्छ ।

होली अरूअरू पर्वहरूभन्दा विशेष रुचिकर हुन्छ । व्यञ्जन र मनोरञ्जन होली पर्वको विशेषता हो । फलफूल, पकवान, मिष्ठान र अन्यान्य व्यञ्जनका साथै मांसाहार भोजनको आनन्द हो होली । चाडबाडमा मांसाहार निषेध भए पनि होलीमा हुँदैन । एकले अर्कोको घरमा खानपान गर्नुपर्ने कुराले होली पर्व पारीवारिक दायराबाट बाहिरेर समुदायमा विस्तार हुन पुग्छ । होली भोजनोत्सव पनि हो, एक प्रकारको खाना महोत्सव । खानु र खुवाउनु होलीको रिवाज हो । रङ्ग, अबिर, उमंग, उत्सव, उत्साह र उल्लासबीच गाइने जोगिडाले होलीको माहौललाई उत्कर्षमा पु¥याउँछ ।

वर्षको छ ऋतुमध्ये ‘वसन्त’ सर्वश्रेष्ठ ऋतु हो । फागुन र चैत महिनाको ऋतु नै वसन्त ऋतु हो । वसन्तको आगमनसँगै वातावरणबाट चिसो खुम्चिँदै गएको हुन्छ । मौसम सुहावना हुन्छ । लता र वृक्षहरू हरियो र खेत खलिहान पहेंलो थाल्छ । सरसौंको खेतले धरतीलाई पिताम्बरी ओढाउँछ । आँप, लिची, जामुन, कटहरहरूले आआफ्नो गन्ध फैलाउन थाल्छन् । चारैतिर राग, रङ्ग र उत्सवको माहौल नै वसन्त हो । होली पर्व वसन्तोत्सव हो । सबै कुरा उस्तै रहन्छ, तर कता कता सबैमा नयापनको अनुभूति भइरहेको हुन्छ । वसन्त ऋतुराज हो । वसन्त ऋतु श्रीपञ्चमीबाट प्रारम्भ भएको मानिन्छ । यो तीथि भनेको वर्षका चार नवरात्रामध्येको एक नवरात्राको समय पनि हो । अर्को एक नवरात्रा पनि यसै ऋतुमा पर्दछ, जसलाई चैते दसैं पनि भनिन्छ । भगवतीको आवाहन–आराधनको दुईदुई अवसर जुरेको वसन्त वास्तवमा नै ऋतुराज हो । ऋतुराजमा होली पर्वको आयोजन हुनु आफैंमा विशिष्ट बोधको विषय हो ।

होली पर्व विष्णुका दस अवतारमध्ये चौथो ‘नरसिंह’ अवतरणको युगान्तकारी समय हो । यस पर्वमा घरघरमा विशेष पूजा आयोजन गरिन्छ । मध्यदेशीय संस्कृतिमा घरघर र टोलटोलमा गोसाइँ, गह्वर र थानको धार्मिक अस्तित्व रहेको छ । घरभित्र गोसाइँ, आँगनमा तुलसीको मठ, ध्वजा आदि मधेशी घरपरिवारको गहना र आध्यात्मिक अलंकारहरू हुन् । होली पर्वमा गोसाइँको विशेष पूजा आयोजन गरिन्छ । विशेष नेवैद्य ‘खिर र पुआ’ का साथै फलफूल र मिष्टान्नसहित पातैर दिने (अर्पण गर्ने) प्रथा छ । गोसाइँको पूजापश्चात प्रसाद ग्रहण गर्नासाथ मानिसहरू महाभोजतिर लाग्छन्, जसको उसलाई कति दिनदेखिको प्रतिक्षा हुन्छ । मांस, मदिरा, भाङ, धतुरा आदि आज सबै अवर्जित छन् ।

होली अथवा फागु पर्वको स्रोत मध्यदेशीय संस्कृति हो । तर अन्य संस्कृतिकाले पनि होली उत्सव मौलिक पर्वकै रूपमा मनाउँछन् । मध्यदेशीय संस्कृतिअनुसार फागु पूर्णिमाको रातमा होलिकादहन गर्ने गरिन्छ । र अर्को दिन मात्र होलिकामाथिको विजयको उत्सव मनाउँछन् । यसरी पहिलो दिन होलिका जलाइन्छ भने भोलिपल्ट उत्सव मनाइन्छ, तयसैले मधेशमा होली पर्व भनेको दुई दिनको हो । जनकपुरमा कहिलेकाहीं दिन विशेषको कारणले तेस्रो दिन पनि पुग्छ । पौराणिक उल्लेख अनुसार भगवान विष्णुको अनन्य भक्त प्रह्लादको कथासँग जोडिएको छ । प्रह्लादलाई मार्ने अनेक उपाय विफल भएपछि हिरण्यकश्यपले बहिनी होलिकालाई आदेश दिन्छन् कि प्रह्लादलाई काखमा लिएर अग्निमा बस्, वरदानका कारण तिमी बच्छौ र प्रह्लाद जलेर सखाप हुन्छ । तर भगवानको लीला— प्रह्लाद भगवानको नाम लिँदै आगोबाट बाहिरिन्छन्, जबकि होलिका जलेर भष्म भएका हुन्छिन् । वास्तवमा भगवानको सत्ता एकमात्र सत्य सत्ता हो, अरूको सत्ता सांसारिक हो, क्षणिक हो, माया हो, भ्रम । आप ईच्छा सदा नास्ति दैव ईच्छा प्रबल भन्ने सन्देशको वाहक पनि हो होली पर्व । वस्तुतः भगवान सर्वव्यापक छन् भन्ने तत्वबोध गर्नु नै होलीको सार्थकता हो ।

होलीकादहन गर्न आधारमा रंगोली सजाइएको हुन्छ । रंगोलीमाथि लकडी जोडिन्छ र विशेष रूपमा गोबरको गुइँठा, गहुँको पराल, उबटन आदि प्रयोग गरिन्छ । ताकि अग्निको विशेष राप प्रकट होस् र त्यसले मानिसको छालालाई निरोगी बनाओस् । होलिकादहन मानिसको मानसिक विकारको दहन पनि हो । अहंकार, लोभ, ईष्र्या, द्वेष आदि मनको मयल सबै नाश गर्ने एउटा विशेष अवसर हो होलिकादहन । पूर्णिमाको योगमा समुद्रमा ज्वार पैदा भए झैं मानिसको विनय र करुणाको सागरमा होलिपर्वले ज्वार पैदा गर्दछ । होलीले मानिसलाई परिवर्तित गर्दछ । मानिस विनयशील बन्दछ र शत्रुलाई पनि अंकमाल गर्न पुग्छ । सामाजिक समरसत्ता र सामाजिक सौहाद्र्रको ऐक्यभाव वास्तवमा यसै पर्वमा प्रकट हुने गर्दछ । बसुधैव कुटुम्बकम् ।।

होली भारतीय र नेपाली पर्व हो । संसारभर जहाँ हिन्दूहरू छन्, उनीहरू होली पर्व धुमधामका साथ मनाउँछन् । यो पर्व हिंदू पंचांगका अनुसार फाल्गुन मासको पूर्णिमामा मनाइन्छ । होली रंग र हँसी–खुशीको पर्व हो । होली मनाइसकेपछि मानिसहरू नुहाउँछन् र फ्रेस भएर नयाँ वस्त्र धारण गरेर होलीको साँझ एकअर्कासँग भेट गर्न जान्छन् । जहाँ उनको स्वागत मालपुआ, नमकीन र चिसो पेयबाट हुन्छ । होलीको रात, भेटघाट र हल्का केही लिएपछिको विश्रामको समय, वास्तवमा होलीको वास्तविक आनन्दको क्षण, अवसर र समय हो । गुड नाइट होली ।

Author:



क्याटोगरी छान्‍नुहोस