सतुवाईन, सिरुवा र धुरिखेल

मध्यदेशीय संस्कृतिका चाड़पर्वहरू प्रायः चन्द्रवर्षमा आधारित छ । तर केही त्यस्ता पर्वहरू छन्, जुन सौर्यवर्षमा आधारित छ, तिनमा सिरुवा पर्व पनि पर्दछ । सिरुवा पर्व दुई दिनको हुन्छ । अघिल्लो दिन सतुवाइन र धुरिखेल हुन्छ, पछिल्लो दिन सिरुवा । तर पर्वको पुकारको नाम भने सिरुवा नै हो ।

सिरुवा एउटा पर्वमात्र होइन, यो संस्कृति पनि हो । सिरुवा पर्व र संस्कृति दुबै हो । सिरुवा पर्व नयाँ वर्ष प्रारम्भ दिवस हो, त्यसैले सिरुवा उत्सव पनि हो । सिरुवा जुड़शीतल र वृक्ष पर्व पनि हो । वास्तवमा सतुवाईन, धुरिखेल, सिरुवा, नयाँ वर्ष, जुड़शीतल, वृक्षपर्व, चैतावर आदि सिरुवा पर्वका अनेक आयाम छन् ।

सिरुवा पर्वमा पनि दुई दिन सार्वजनिक बिदा हुन्छ । तर यसमा पहाड र मधेशको आधार छैन । यस पर्वको व्यवस्था नै दुई दिनको छ । वैशाख १ गते संघीय गजट अनुसार नयाँ वर्षको रूपमा परम्परागत सार्वजनिक बिदा छ । यो दिन सिरुवाको सतुवाइन पर्व पर्दछ । प्रदेश २ सरकारले खास सिरुवा दिन अर्थात् वैशाख २ गते सार्वजनिक विदा दिने गरेको छ ।

सिरुवा वसन्त ऋतुको पर्व हो । फागुन र चैत महिना वसन्त ऋतु हो । फागुन पूर्णिमा होली पर्वको रूपमा समर्पित छ भने चैतको पूर्णिमा नवरात्रा (प्रथम) को विर्सजनोत्सव हो । होली पर्वको सन्दर्भ भगवान विष्णुको ‘नरसिंह’ अवतार हो भने चैत्र शुक्ल प्रतिपदा मीन अवतारको समय हो । यस दिन भगवान रामले बालीको वध गरेका थिए भने यसको नवमीको दिन रावणको वध गरेका थिए । यसै कारणले चैते दशैं भगवान रामसँग जोडिएको छ । यी सबै लौकिक/अलौकिक घटना यही वसन्त ऋतुमा भएको पाइन्छ ।

नेपालमा विक्रम संवतको नयाँ वर्ष वैशाख संक्रान्तिको दिन प्रारम्भ भएको मानिन्छ । तर वास्तविकता के हो भने ईसा पूर्व ५६ मा विक्रम संवतको प्रारम्भ गरिँदा चैत्र शुक्ल प्रतिपदाको दिन प्रारम्भ गरिएको थियो । भारतीय शासन व्यवस्था रोमन कैलेण्डर आधारित भएर चले पनि भारतको सांस्कृतिक व्यवस्था भने संवत्सरको आधारमा चलेको छ र चैत्र शुक्ल प्रतिपदाकै दिन नव वर्ष पनि मनाइन्छ ।

सिरुवाको दिन गोसाइँ, सिराआगु, थान आदिको विशेष तरिकाबाट पूजा गरिन्छ । अर्थात् सिरुवा पर्वको देवता भनेको घरको देवता, पितृ आदि हुन् । मध्यदेशीय संस्कृतिको सबैभन्दा ठूलो विशेषता यो हो कि प्रत्येक व्यक्तिको इष्टदेव हुन्छ र प्रत्येक परिवारको आफ्नो मूलदेवता हुन्छ । मूलदेवतासँगै सहगोत्री देवता पनि हुन्छन् । घरको देवताको घर (गोसाइँघर) छुटयाइएको हुन्छ । घरको कुनै खास कुनामा घरको देवीदेवताहरूको स्थापना गरिएको हुन्छ । प्रत्येक दिनको घरको काम (जस्तैः सरसफाई, भोजन आदि) मा गोसाइँको पूजा पनि समावेश हुन्छ ।

संसारका सबै संस्कृतिहरूले भोजन खानपानलाई विशिष्ट महत्व प्रदान गरेको छ । खानपान, पहिरन आदि मानिसका सांस्कृतिक चिन्हहरू हुन् । चाड़विशेषको दिन भने विशिष्ट प्रकारको भोजन ग्रहण गर्ने चलन हुन्छ । मध्यदेशीय संस्कृतिमा पनि वर्षभरिमा चाड़पर्वका दौरान अनेक प्रकारका विशिष्ट भोजन र व्यञ्जन खाने चलन छ ।

सिरुवाको अघिल्लो दिन अर्थात् वैशाख संक्रान्तिको दिन सतुवाईन पर्व मनाइन्छ । सतुवाईन पर्वको विशेष भोजन ‘सत्तू’ हो । बिहान स्नानध्यान पूजापाठ गरी चनाको सत्तू र गुँड (सक्कर) देवीदेवतालाई अर्पित गरेर घरपरिवारमा सामूहिक रूपमा खानु यस पर्वको विशिष्टता हो । मध्यदेशीय व्यञ्जनमा चनाको निकै महत्व छ । चनाको सत्तुसँगै गुँड पनि आयुर्वेदिक गुण सम्पन्न खाद्यपदार्थ हो । सिरुवा पर्व मनाइँदै गर्दा मौसममाा गर्मीको पारा बढ्दै गएको हुन्छ । सत्तूको सेवनले गर्मीको दुष्प्रभावबाट जोगाउँछ । सत्तू प्रयोग गरे लू लाग्ने खतरा कम हुन्छ, किनभने सत्तूले शरीरमा ठंडक पैदा गर्दछ ।

सतुवाईनकै दिन धुरिखेल पनि खेलिन्छ । एकले अर्कालाई हिलो र पानी छ्यापने यो खेल वास्तवमा खेलमात्र होइन, मनोरञ्जन, उत्सव, व्यायाम र योगको अवसर पनि हो । धुरिखेल यस अर्थमा एक विशेष प्रकारको योग हो, जसमा व्यक्ति धरती र प्रकृतिको समिप पुग्दछ अथवा त्यसमा समाहित नै हुन पुग्छ । प्रकृतिसँगको अभिन्नताले व्यक्तिलाई पूर्णता प्रदान गर्दछ ।

कतिपयले यस पर्वलाई ‘बासिखाय’ पनि भन्दछन् । बासी खाना खाइने कुराले गर्दा यसो भन्ने गरिएको हो । हुनत बासी खाना भनेको प्रसादको रूपमा ग्रहण गरिन्छ । सतुवाईनको दिन पकाएको अरुवा चामलको भात, दही, चिनी, केरा, मिष्टान्न देवीदेवतालाई अर्पित गरिन्छ ।

त्यसैगरी अघिल्लो दिनको भात र सिरुवा दिन पकाइएका तरकारी, तरुवा, बडी तथा दही, चिनी, केरा, मिष्टान्न आदि चुलोलाई र यथोचित स्थानमा चढाइन्छ । यस पर्वको विशेषता यो हो कि सिरुवाको दिन बेलुको चुलो बालिदैन । दिनभरि आफ्नो घरमा र आफन्तको घरमा पनि खानुपर्ने चलनले गर्दा बेलुका खाने कमै हुन्छन् । खानेले पनि बिहान पकाएको खानेकुरा नै खानुपर्छ । बेलुका चुलो बल्दैन ।

सिरुवाको दिन ठाउँठाउँमा मेला पनि लाग्दछ । राजविराजको राजदेवी मन्दिरमा, शम्भुनाथको स्वयंभू महादेव मन्दिरमा, सिरहाको शलहेश मन्दिर (फूलबारी) मा लगायत गाउँघरमा मेला लाग्दछ । शम्भुनाथको मेला महिना दिन चल्थ्यो । तर अहिले अवस्था अनुकूल छैन ।

नव वर्ष २०७८ बुधबारको दिन प्रारम्भ भएको छ । बुध दिन नव वर्ष प्रारम्भ हुनुको ज्योतिषीय अर्थ यस वर्ष सबै कुरो अनुकूल रहनुपर्ने हो । हावापानी, वर्षा, मौसम, खेतीपाती, उद्योगधन्दा, राजनीति, विकासका काम आदि सबै कुरा अपेक्षित रूपमा चल्नुपर्ने हो । तर कोविड नाइन्टिनको नयाँ चरणको बढ्दो संक्रमण फैलावटले गर्दा त्यस्तो आशा र अपेक्षा गर्न दिइरहेको छैन ।

नव वर्षको आगमनमा सबैतिर शुभकामना आदानप्रदानको माहौल छ । संघ–संस्था, विद्यालय आदिमा अपेक्षितहरूलाई आमन्त्रित गरी शुभकामना लिनेदिनेको एउटा आधुनिक चलन सर्वत्र फैलिँदै गएको छ । हुनत मध्यदेशीय संस्कृतिको एउटा विम्ब रहेको सिरुवा पर्वमा शुभाशीष दिने आफ्नै पारम्परिक विधि छ । हरेक परिवारमा श्रेष्ठजनले कनिष्ठजनको टाउकोमा शीतलजलले अभिषेक गरेर आशीर्वाद प्रदान गर्दछन् । घरका आफन्तलाई अभिषेक र आशीर्वाद प्रदान गरेपश्चात श्रेष्ठजन टोल समुदायका कनिष्ठहरूलाई त्यसैगरी आशीर्वाद दिन्छन् । यसै विधिलाई जुड़शीतल भनिन्छ ।

सिरुवा पर्व एक रूपमा वृक्षपर्व पनि हो । प्रत्येक व्यक्तिले घरबारी, बगैंचा र टोल समुदायमा रहेका वृक्षहरूको जलसिंचन गर्ने चलन छ । बडाले छोटालाई अभिषेक–आशीर्वाद गरेपछि वृक्षसिंचनको पालो आउँछ । मध्यदेशीय संस्कृतिमा पर्यावरणीय रक्षाको प्रेरणा र संस्कार संसारकै अनुपम उदाहरण हो ।

वसंत ऋतुमा वृक्ष पल्लवित हुनथाल्छ । उत्साहवर्धक र आल्हाददायक वातावरण हुन्छ । मन्जरीले वसन्तमा सुगन्ध भर्दछ । होरी र चैतावरले तरङ पैदा गर्दछ । यस्तो प्रतीत हुन्छ मानौ प्रकृतिले पनि नववर्षको स्वागत गरिरहेको छ । चैतावर बारहमासाको पहिलो गीत हो । बारहमासा मैथिली, भोजपुरी, अवधि जनजीवनमा बारहैमास गुन्जिने लोकगीत हो । बारहमासा मध्यदेशीय निधि हो, जो सबै भाषा, संस्कृति र साहित्यको आफ्नै धरोहर हो ।

Author:



क्याटोगरी छान्‍नुहोस