वैदिक संस्कृतिमा अष्ट चिरञ्जीविको ठूलो प्रसंग पाइन्छ । चिरञ्जीवी भनेको अमरत्व प्राप्त गरेको व्यक्तित्व अर्थात् चिर–जीवन भएको व्यक्ति भन्ने बुझिन्छ । पुराणमा वर्णित आठ महान प्राचीन व्यक्तित्वहरूको समूह हो अष्ट चिरञ्जीवी । अष्ट चिरञ्जीवि समूहमा अश्वस्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, मार्कण्डेय र परशुराम पर्दछन् ।
परशुराम भगवानको छैटौं अवतार हो । उनमा ज्ञानी, स्रष्टा, गुरु, समाजसुधारक, क्रान्तिकारी आदि अनेकों व्यक्तित्व छ । मार्कण्डेय हिन्दू धर्मका मुख्य धार हुन्, जसले भागवत, देवीभागवतजस्ता पुराण एवं महामृत्युञ्जयजस्तो मन्त्र रचना गरेर हिन्दूत्वको विश्वासलाई जीवन्त बनाए । भगवान, महादेव र देवी, यी तीनवटै तत्व मार्कण्डेयको एउटै आलोकमा दृष्टिगोचर हुन्छन् । मार्कण्डेय पुराण ऋषि मार्कण्डेय र जैमिनिबीच भएको संवादको संगालो हो । यसर्थ यो पुराण स्वयंमा एक अनुप्राणीत विचारधारा हो । भक्त हनुमान, वेदज्ञ व्यास, गुरु कृपाचार्य, राजा बलि, धर्मज्ञ विभिषण तथा योद्धा अश्वत्थामा आदि आआफ्नो क्षेत्रका अद्वितीय महापुरुष हुन् ।
अश्वत्थामा, व्यास र कृपाचार्य चिरञ्जीवि हुन् भने समकालीन कृष्ण, अर्जुन, दुर्योधन आदि पनि चिरञ्जीवि हुन् । परशुराम, हनुमान र विभीषण चिरञ्जीवि हुन् भने राम, लक्ष्मण, वशिष्ठ, विश्वमित्र पनि चिरञ्जीवि हुन् ? पौराणिक कथा र प्रसंगसँग आजको तर्क–युग सहमत हुनै पर्छ भन्ने छैन । तर अलिक गहिरिएर हेर्ने हो भने चिरञ्जीवि र अमरत्वको अवधारणा अर्थहीन छैन । यसको आफ्नै गुढ अर्थ छ ।
श्रेष्ठजनले आत्मजनलाई चिरायु र दिर्घायु हुने आशीर्वाद दिन्छन् । यस्तो आशीर्वादको अर्थ आशीर्वाद पाउनेको आयु लामो होस् भन्ने हो, ऊ धेरै धेरै समय बाँचोस् भन्ने हो । तर वास्तवमा विचार गर्ने हो भने कुनै पनि व्यक्ति कति धेरै समयसम्म बाँच्न सक्छ त ? वर्तमान युगमा सबैभन्दा धेरै बाँचेका व्यक्ति फ्रान्सका जीन्ने क्यामेन्ट हुन्, जो १२२ वर्ष १६४ दिनसम्म बाँचेको बताइन्छ । तर चिरञ्जीवि भन्नुको तात्पर्य व्यक्तिको जन्म र मृत्युबीचको अवधि नभई उसको जीवनको मूल्य हो ।
श्रीमद्भाग्वत गीताले व्यक्ति र व्यक्तित्वलाई अद्वैतवादको आधारमा व्याख्या गर्दछ । गीताको दर्शन यही हो कि जीवको मृत्यु स्वाभाविक छ तर जीवनको मृत्यु असम्भव छ । व्यक्तिको मृत्यु निश्चित छ तर उसको व्यक्तित्व अमर हुन्छ । जीवन र व्यक्तित्वलाई नै आत्मा भनिएको छ । त्यसैले शरीरलाई नश्वर र आत्मालाई अमर भनिएको हो । तर यहाँनिर यो पनि स्पष्ट हुनु आवश्यक छ कि अमरत्वको स्थान ब्रह्माण्डीय दर्शनमा अखण्डित हुन्छ तर सांसारिक लोकमा सीमित हुन्छ ।
प्रत्येक व्यक्तिमा कुनै विशेष गुण वा विशेषताहरू हुन्छन्, जो अर्को व्यक्तिदेखि भिन्न हुन्छ । आआफ्नै गुण एवं विशेषताहरूका कारणले प्रत्येक व्यक्ति एकअर्कोदेखि भिन्न हुन्छ । व्यक्तिको यिनै गुणहरूको समुच्चय व्यक्तिको व्यक्तित्व कहलाउँछ । व्यक्तित्व एक स्थिर अवस्था नभएर एक गत्यात्मक समष्टि हो । व्यक्तिको आदर्श, विचार, कर्महरूमा नै व्यक्तिको व्यक्तित्व प्रतिविम्बित हुने गर्दछ । संसारमा प्राचीनकालदेखि नै महान व्यक्तिहरूको प्रादुर्भाव भयो, जसको कारणले यो संसारको हित भयो र तिनै कारणले ती महान व्यक्तित्व आजपर्यन्त पूजनीय छन् । उनीहरूको आयु खण्डित भए पनि उनीहरूको जीवन मूल्य अखण्डित छ र अखण्डित रही रहनेछ ।
संसारमा प्रारम्भदेखि अरब, खरब, पद्म, नील कति मानिस जन्मिए र आफ्नो ईहलीला पूरा गरे तिनीहरूको गणना गर्नु सम्भव कुरा होइन । तर तीमध्ये विशेष वा महान व्यक्तित्वको रूपमा जन्मिएर संसारलाई गुण लगाउनेहरू भने अवश्य पनि ज्ञात छन् र उनीहरूको स्मरण यो संसारले सदैव गर्दै आएको छ । दुनियाका महानदेखि महानतम व्यक्तित्वहरूको सूची सानो हुन सक्दैन । उनीहरूको संख्या सयौं, हजारौं होइन, लाखौंमा हुनसक्छ । उनीहरू सबैं आआफ्नो भूगोल र विषयक्षेत्रमा आदरणीय छन्, पूज्यनीय छन् । तिनै महानतम व्यक्तिहरूमध्येका एक आदरणीय गजेन्द्र नारायण सिंह, जसको यतिबेला जन्म जयन्तीको सन्दर्भ बनेको छ, उनको स्मरण म यहाँ यतिबेला गर्न लागेको छु ।
गजेन्द्र नारायण सिंह (वि.सं. १९८५–२०५८) नेपालका राजनेता र मधेशका मसिहा हुन् । उनी प्रजातन्त्रका सेनानी, लोकतन्त्रका योद्धा र सामाजिक न्यायका अगुवा हुन् । उनी शासित, शोषित, पीडित, उपेक्षित नेपाली समाजका हिमायती तथा उनीहरूका हकहितका लागि आफ्नो जीवन अर्पित गरी दिने व्यक्तित्व हुन् । उनको जन्मताका नेपालमा दुई दर्जाका नागरिकको मान्यता थियो । जनजाति, मधेशी, दलित, मुस्लिम आदि दोस्रो दर्जाका नागरिक मानिन्थे । उनीहरूको नागरिकताप्रति सन्देह गरिन्थ्यो । उनीहरूको पहिचान र संस्कृतिलाई स्वीकार गरिएको थिएन । राजकाजमा उनीहरूको पहुँच थिएन । अनेक तरहले उनीहरूसँग विभेद, भेदभाव, तिरस्कार, उपेक्षा, उपहास, शोषण एवं अपमान गरिन्थ्यो । त्यस्तो परिस्थितिबाट नेपाललाई निजात दिलाउने एक्लो व्यक्तित्व थिए, गजेन्द्र नारायण सिंह ।
नेपाल राज्यको निर्माणदेखि यस राज्यको सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनसम्ममा ती परिवर्तनहरूको संवाहक अनेक व्यक्तित्व छन्, तर नेपालको सामाजिक न्यायको आन्दोलन र संघीय आन्दोलनको श्रेय गजेन्द्र नारायण सिंहलाई नै जान्छ । आज समावेशीकरणको नाम र रूपमा उपेक्षित समुदायलाई राज्यको मूलधारमा ल्याउने जुन कार्य अघि बढिरहेको छ, त्यो गजेन्द्र नारायण सिंहले चलाएको आरक्षण आन्दोलनको परिणाम हो । आज नेपालमा सांस्कृतिक पहिचानको आन्दोलन शिखरमा पुगेको छ, उक्त आन्दोलनको शिलान्यास गर्ने व्यक्ति नै गजेन्द्र नारायण सिंह हुन् ।
सप्तरी, कोइलाडीमा जन्मेका गजेन्द्र नारायण सिंह नेपाली जनजीवनका कहिल्यै नबिर्सिने नाम हो । जसरी नेपाली गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंह हुन् त्यसरी नै नेपाली संघीय आन्दोलनका प्रणेता गजेन्द्र नारायण सिंह हुन् । शोषित, पीडित, उपेक्षित जनताको अधिकारका लागि आजन्म संघर्षरत गजेन्द्र नारायण सिंहको देश र मधेशप्रतिको योगदान अविस्मरणीय छ । नेपाल सदभावना पार्टीको अध्यक्ष तथा राष्ट्रिय सभाको सदस्य रहिरहँदाको अवस्थामा गजेन्द्र नारायण सिंहको निधन भएको थियो ।
गजेन्द्र नारायण सिंहको राजनीतिक व्यक्तित्वको उठान दुई तरहले भयो । प्रजातान्त्रिक र लोकतान्त्रिक योद्धाको रूपमा र अर्को क्षेत्रीय तथा सांस्कृतिक आन्दोलनका प्रणेताको रूपमा । प्रजातान्त्रिक आन्दोलनको लडाइमा उनी राणा शासनकालमा सामेल भएका थिए । राजाबाट संसदीय व्यवस्था समाप्त गरी पञ्चायती शासन लादिएपछि उनी लोकतान्त्रिक आन्दोलनमा होमिए । उनी नेपाली कांग्रेसका सदस्य थिए । कांग्रेससंवद्र्धनमा उनी साधारण कार्यकर्तादेखि सप्तरी जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भए । मधेशको समस्याप्रति पार्टीको धारणा प्रतिकूल देखेर त्यसलाई सच्याउने प्रयास उनले गरेका थिए । तर सफल नभएपछि उनले कांग्रेस त्यागे र मधेश आन्दोलनको मसाल जलाए । १७ वर्षकै उमेरमा २००६ सालमा पहिलो चोटी जेल गएका थिए । उतिखेरदेखि लोकतन्त्र र समताको लागि उनी संघर्षरत रहेका थिए । त्यसक्रमा उनी कैयौं चोटी जेल गए । २०१७ सालदेखि २०३५ सालसम्म भारतमा निर्वासित रहनुपर्यो ।
२००९ सालमा नेपाली कांग्रेससँग राजनीतिक मदभेद भएपछि कुलानन्द झा र रामजनम तिवारी मिलेर तराई कांग्रेस गठन गरेका थिए, जसको उद्देश्य तराई अर्थात् मधेशको समस्या सुल्झाउनु रहेको थिए । पार्टी गठनको केही समयपछि कुलानन्द झाले राजनीतिमा धेरै लगाव नरहेको भन्दै पार्टीबाट अलग बस्ने निर्णय गरे । कुलानन्द झा संस्कृत भाषाका विद्वान थिए । त्यसपछि कुलानन्द झाको ठाउँ उनकै कान्छा भाइ वेदानन्द झाले लिए । वेदानन्द झा त्यो बेला पटनामा बसेर पत्रकारिता गर्थे । उनी इन्डियन नेशन भन्ने पटनाबाट प्रकाशित हुने अंग्रेजी पत्रिकाको सम्पादक पनि थिए ।
वेदानन्द झा र रामजनम तिवारी मिलेर २०१७ सालसम्म तराई कांग्रेस चलाए । २०१७ सालमा राजाले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता हातमा लिएपछि तराई कांग्रेस विघटन भएको घोषणा गर्दै वेदानन्द झा राजाको साथ लागे । रामजनम तिवारीले भने तराई कांग्रेस नेपाली कांग्रेसमा विलय भएको घोषणा गर्दै कांग्रेसमा प्रवेश गरे । लोकतान्त्रिक आन्दोलनमा क्रियाशील रहे पनि तिवारी तराई/मधेशको लाईनमा भने काम गरी नै रहे ।
मधेशको समस्यामा केन्द्रीत अन्य राजनीतिक संगठन पनि क्रियाशील थिए । तिनमा मधेश जनक्रान्तिकारी दल पनि एक थियो, जसको नेतृत्व रघुनाथ ठाकुरले गरिरहेका थिए । उनले नेपालको राजधानी काठमाडौंदेखि भारतको राजधानी दिल्लीसम्ममा धर्ना दिएर मधेशप्रतिको विभेदलाई उजागर गर्ने काम गरेका थिए । मधेशी समुदायको आन्दोलनको सैद्धान्तिक पक्षमा ठाकुरले निकै काम गरे । वि.सं. २०१५ मा प्रकाशित ठाकुरको ‘परतन्त्र मधेश और उसकी संस्कृति’ ले सर्वप्रथम मधेशको पहिचान स्थापित गर्ने काम गर्यो । पछि आएर उनकै मधेशप्रतिको विचारधारालाई ‘मधेशवाद’ भनियो ।
२०१७ सालमा तराई कांग्रेसको अन्त्य र २०३८ सालमा रघुनाथ ठाकुरको रहस्यमय निधनपछि मधेसको पहिचानको आन्दोलन शिथिल रह्यो । मधेशी, आदिवासी, जनजाति, थारु, दलित समुदायलाई अधिकार दिलाउन २०४० सालमा गजेन्द्र नारायण सिंह र रामजनम तिवारीले मिलेर नेपाल सदभावना परिषद् गठन गरे । त्यस पश्चात परिषद्को गठनसँगै सुरु भएको मधेश आन्दोलन कहिल्यै थामिएन ।
२०४६ सालमा नेपालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि २०४७ सालमा नेपाल सद्भावना परिषद् नेपाल सदभावना पार्टीमा परिणत भयो । गजेन्द्र नारायण सिंह पार्टी अध्यक्ष बने भने रामजनम तिवारी पार्टीका सर्वोच्च नेता । २०४६ सालको आन्दोलनपछि राजधानीमा मधेशी समुदायको प्रथम आमसभा हुँदै गर्दा आमसभा उपर हमला भएको थियो । सहभागी मधेशीमाथि आक्रमण गर्दै ईटा–ढुङ्गा बर्साइएको थियो । त्यस आमसभामा धेरैजना घाइते भएका थिए ।
वि.सं. २०५८ सालमा गजेन्द्र नारायण सिंह सदाका लागि संसार छोडेर गए । उनको मृत्युपछि राज्यले उनलाई विशेष सम्मान दियो । उनको नाममा राजविराजको ऐतिहासिक अस्पतालको नामकरण गरिएको छ । राजविराजको औद्योगिक क्षेत्रको नामकरण पनि उनकै नामबाट गरिएको छ । राजविराजको केन्द्रमा अवस्थित चौक, जसको नाम त्रिभुवन चौक थियो, त्यसको नाम गजेन्द्र चौक भनी कायम गरियोे । नेपाल सरकारले उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्यो । राजविराजस्थित उहाँको आवास क्षेत्र ‘सप्तरी सेवा आश्रम’ मा नै उनको अन्त्येष्ठि सम्पन्न गरियो । अन्त्येष्ठि स्थललाई समाधि स्थल बनाइएको छ ।
समाधि योगसँग सम्बन्धित विषय हो । कुनै असम्भव वा असाध्य कार्यलाई अंजाम दिन गरिने प्रयत्न पनि समाधि हो । कठिनाइमा धैर्यका साथ प्रयत्न गर्नु पनि समाधि हो । त्यसैगरी चुप रहनु, मौन बस्नु र चिर निद्रामा लीन हुनु पनि समाधि हो । योगको चरम फल, जो योगका आठ अंगमध्ये अन्तिम अंग हो, जसको प्राप्ति सबैभन्दा अन्तमा हुन्छ । यस अवस्थामा मानिस सबै प्रकारको क्लेशबाट मुक्त भइहाल्छ । चित्तको सबै वृत्ति नष्ट भएर जान्छ । बाह्य जगत्देखि उसको कुनै सम्बन्ध रहँदैन । उसलाई अनेक प्रकारको शक्ति प्राप्त हुन्छ । अन्त्यमा कैवल्यको प्राप्ति हुन्छ । यस्तै पार्थिव शरीर वा अस्थी माटोमुनि गाडनु पनि समाधि हो । त्यो स्थान जहाँ पार्थिव शरीर वा अस्थी गाडिएको हुन्छ, त्यसलाई समाधि स्थल भनिन्छ ।
धर्म र संस्कृति विशेषमा पार्थिव शरीरलाई माटोमुनि दफन गर्ने वा जलाउने आआफ्नै प्रथा छ । तर महान व्यक्तिहरूको भने जे जसरी अन्त्येष्ठि गरिएको भए पनि समाधिस्थल निर्माण गर्ने परम्परा संसारभरि रहेको पाइन्छ । समाधिस्थल निर्माणका पछाडि सम्मान प्रकट गर्नु एक प्रमुख कारण रहेको हुन्छ । तर समाधिस्थल हरेक नवीन पुस्ताका लागि प्रेरणाको स्रोतको रूपमा एक धरोहर रहेको हुन्छ । समाधिस्थलको निर्माणमात्र होइन, यसको संरक्षण पनि उत्तिकै आवश्यक छ । समाधिस्थलको संरक्षण र संवद्र्धन राजकीय जिम्मेवारी हो ।
भारतमा महात्मा गान्धीको राजघाटमा अवस्थित समाधिस्थल संसारभरि प्रसिद्ध छ । भारतको राजकीय भ्रमण गर्ने कुनै पनि विदेशी अतिथि राजघाट अवश्य पुग्छन् र गान्धिप्रति श्रद्धासुमन अर्पण गर्दछन् । भारतमा राष्ट्रपति डा. राजेन्द्र प्रसाद, प्रधानमन्त्री जवाहर लाल नेहरु, लाल बहादुर शास्त्री, इन्दिरा गान्धी, राजीव गान्धी, अटल विहारी वाजपेयी, डा. भीमराव अम्वेडकर, बाबु जगजीवन रामको पनि समाधिस्थलको निकै महत्व दिइएको छ ।
राजविराजमा ऐतिहासिक सप्तरी सेवा आश्रममा गजेन्द्र नारायण सिंहको समाधिस्थल निर्माण गरिएको छ । नेपाल सरकार र राजविराज नगरपालिकाको संयुक्त लागतमा समाधिस्थल निर्माण गरियो । तर यसको संरक्षण र संवर्द्धन गर्ने जिम्मेवारी स्वामित्व लिने कोही देखिएको छैन । गजेन्द्र नारायण सिंहको नाममा अनेक संरचनाहरूको निर्माण र सञ्चालन विधिवत भइरहेको छ । तर स्वयं गजेन्द्र नारायण सिंहको समाधिस्थलको अवस्था सन्तोषजनक छैन । उनको समाधिस्थलमा जन्मजयन्ती तथा स्मृतिदिवसमा पछिल्ला वर्षसम्म अनुयायीहरूको भीड देखिन्थ्यो । तर यस वर्ष भने कोही देखिएन । गजेन्द्र नारायण सिंहको नाममा देशभरिमा संस्थाहरू खडा गरिएका छन् । तर उनको समाधिस्थलतिर कसैको ध्यान गइरहेको पाइँदैन ।
नेपालमा संघीयताको परिकल्पनाकार गजेन्द्र नारायण सिंह नै थिए । गजेन्द्र नारायण सिंह नेपाल राज्यलाई मजबुत बनाउन एउटै देशभित्र बसेका विभिन्न समुदायको समान अधिकारको स्थापना एवं समतावादी समाजको निर्माणको लागि जीवनभरि संघर्षरत रहे । उनको जीवनी सबैको लागि प्रेरणाप्रद छ । यसर्थ उनको समाधिस्थलको संरक्षणको अभिभारा सरोकारवाला सबै पक्षले लिनै पर्छ ।