कोरोना कहरमा पनि सप्तरीमा उत्साहजनक राजस्व संकलन

राजविराज, १४ असार । कोभिड–१९ महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्याएको अवस्थामा पनि करदाता सेवा कार्यालय राजविराजमा राजस्व संकलन उत्साहजनक देखिएको छ ।

आन्तरिक राजस्व कार्यालय लहानको करदाता सेवा कार्यालय राजविराजले चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ४६ करोडभन्दा बढी रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिकवर्ष जेष्ठ मसान्तको तुलनामा १२ करोड बढी हो ।

सप्तरीमा यो आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ४६ करोड १ लाख ५९ हजार ९ सय ८६ रुपैया राजश्व उठेको करदाता सेवा कार्यालय राजविराज प्रमुख सरोज कुमार ढकाले बताए । उनका अनुुसार गत वर्ष जेष्ठ मसान्तसम्म कुल ३४ करोड ३४ लाख ७४ हजार ९ सय ४६ राजस्व संकलन भएको थियो ।

३२ हजारबढीले लिए प्यान

पछिल्लो समयमा सप्तरीमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । करदाता सेवा कार्यालयका अनुसार जेष्ठ मसान्तसम्म ३२ हजार ८६६ जनाले प्यान लिएका छन् । प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानुनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ ।

चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १८ हजार ३०४ पुगेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता १४ हजार ५ सय ६२ जना रहेको प्रमुख ढकालले बताए ।

उनका अनुसार २०७५/०७६ मा २ हजार १७२, २०७६/०७७ मा १ हजार ८१८ र चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म २ हजार ८६२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यसैगरी २०७५/०७६ मा १ हजार ६१२, २०७६/०७७ मा ७ हजार ९९१ र चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ४ हजार ६८५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका कार्यालयको तथ्यांक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस