कक्षा १२ को परीक्षा साउनमै हुनेमा शङ्का

जनकपुरधाम । । कक्षा १२ को परीक्षा कहिले हुने अझै टुंगो लागेको छैन । कोरोना महामारी केही घटेर निषेधाज्ञा खुलेपनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मिति तोक्न सकेको छैन ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल बोर्डले परीक्षा साउनको अन्तिम सातादेखि गराउने योजना रहेपनि अहिले मुलुकभरको आन्तरिक सूचना सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए । उनले भने, “बोर्डको १२ वटा शाखा छ । ती शाखाबाट विद्यालयहरूले परीक्षा गराउन केकस्ता स्रोत साधन छन्, त्यसबारे सूचना सङ्कलन भइरहेको छ ।”

उनले कोरोना संक्रमणको दर केही घटेपनि अहिल्यै परीक्षा गराउन निर्णय गर्न नसकिने बताए । “परीक्षाको सम्पूर्ण तयारी भएको छ । साउनमै गराउने इच्छा पनि छ । तर संक्रमण दर केही प्रतिशत घट्यो भन्दैमा हतारिएर परीक्षा गराउनु भएन । बढ्यो भने बीचमै रोक्नुपर्ने हुन्छ ,” उनले भने ।

गत वर्ष पनि कक्षा १२ को परीक्षा कोभिड १९ को कारण प्रभावित भएको थियो । लकडाउन खुलेपछि दुईवटा मोेडलमा परीक्षा सञ्चालन गरिएको थियो । हिमाली क्षेत्रमा प्रश्नपत्र छापेर पठाइएको थियो भने अन्य क्षेत्रमा अनलाइनबाट प्रश्न पत्र पठाइएको थियो । विद्यार्थीहरूले आफू पढ्ने विद्यालयमै गएर परीक्षा दिएका थिए । परीक्षा ढिलो भएपछि त्यसले उच्च शिक्षा अध्ययनमा समेत प्रभावित पारेको थियो । विश्वविद्यालयले फागुनमा मात्रै स्नातक तहमा नयाँ विद्यार्थी भर्ना लिएका थिए ।

यस्तै, गत वर्ष ४० अङ्कको लिखित परीक्षा र कक्षा ११ को मूल्याङ्कनलाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा प्रमाणीकरण गरिएको थियो । जसमा आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम मूल्याङ्कनको आधार बनाइएको थियो ।

यसपटक प्रश्नपत्र सबै अनलाइनमै पठाउन सकिन्छ कि भनेर घनीभूत छलफल चलिरहेको अध्यक्ष पौडेल बताउँछन् । “सबै विद्यालयमा बिजुली बत्ती र इन्टरनेटको सुविधा छ कि छैन, त्यसबारेमा सूचना सङ्कलन गर्दैछौँ,” उनले भने, “सबै सूचनालाई वर्गीकरण गरिरहेकाछौँ । यहाँ विद्यालय विद्यालयबीचको स्तर पनि फरक छ । अनुमानको भरमा परीक्षा गराउन सक्दैनौँ ।”

बोर्डले २६ जेठमा कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना संक्रमण बढेपछि स्थगित गरेको थियो । यसवर्ष कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदै छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस