जसपा बिबाद : पूर्वराजपा ब्युँताउने तयारीमा महन्थ-राजेन्द्र समूह

जनकपुरधाम । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पूर्वराजपा ब्युँताउने तयारीमा जुटेका छन् । उनीहरूले जसपाप्रतिको मोह भंग भइसकेको संकेत गर्दै आधिकारिकताका लागि निर्वाचन आयोगमा धेरै समय नखर्चिने मुडमा पुगेकाे बैठकमा बताएका छन् ।

२२ असारमा निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यो छलफलभन्दा अगाडि नै नयाँ कदम उठाइहाल्ने स्थितिमा भने याे समूह छैन । त्यसपछि जसपा विवादले निर्णायक टुंगाे लाग्नेछ । त्यसका लागि महन्थ-राजेन्द्र समूह राजपा ब्युँताउने मनस्थितिमा पुगिसकेको छ । बुधबार काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरूको बैठकमा नेताहरूले त्यही संकेत गरेको सहभागी एक सदस्यले बताए ।

ती सदस्यका अनुसार, नेताहरूले निर्वाचन आयोगसँग भएका पत्राचारका बारेमा ब्रिफिङ गरेका थिए । बुधबार नै आयोगले ठाकुर पक्षले यसअघि पठाएको कार्यकारिणी समिति हेरफेरको निर्णय अस्वीकार गरेको थियो । त्यसैले कार्यकारिणी सदस्यहरूले आयोगमा बलियो प्रमाणसहित जानुपर्ने तर्क पनि गरेका थिए । त्यसमा खास रुचिपूर्वक सुनुवाइसमेत नगरेका नेताहरूले आखिरमा अलग नै बस्ने भएपछि धेरै झमेला किन गर्ने भन्ने तर्क गरेका थिए ।

बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले मधेशलाईभसँगको कुराकानीमा भने, ‘ठाकुर र महतोसहितका नेताहरूले अलग हुने नै हो भन्ने धारणा राख्नुले जसपाप्रति मोहभंग भइसकेको बुझिन्छ ।’ पूर्वराजपा ब्युँताउने तयारी भइरहेको छ र पुरानो विधानलाई अन्तिम रूप दिन लागिएको ती सदस्यले बताए ।

पूर्वराजपालाई विघटन भएको एक वर्ष पुगिनसकेका कारण त्यही नाममा अर्को दल दर्ता गर्न समस्या छ । त्यस कारण नेताहरूले ढिलाइ गरेको ती सदस्यको भनाइ छ । निर्वाचन आयोगका सहसचिव राजकुमार श्रेष्ठका अनुसार, दुई पार्टी एकीकरण भएपछि पुरानो दल खारेजीमा जाने र त्यस्तो दलको नाममा एक वर्षसम्म अर्को दल दर्ता गर्न मिल्दैन । जसपाका एक नेताको भनाइमा त्यही भएर एक वर्ष टार्ने प्रयत्न भइरहेको छ । असार अन्तिम साता राजपा औपचारिक रूपमा विघटन भएको एक वर्ष पुग्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस