निर्माणको अन्तिम चरणमा पुगेको कमला नदीको पुल भाँसियो, छानबिनका लागि पत्र पठाइयो

जनकपुरधाम । हुलाकी सडकखण्डअन्तर्गत सिरहा-धनुषाको सिमानामा निर्माणाधीन कमला पुल भाँसिएको छ । वर्षासँगै कमला नदीमा आएको बाढीको बहावले बिहीबार दिउँसो पुल भासिएको हो ।

१२ वटा स्पानमध्ये सिरहातर्फको दोस्रो स्पान दुई फिट मुनि भाँसिएको छ । झण्डै १० वर्षदेखि निर्माणाधीन कमला पुल यही १३ असारमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, समयमै निर्माण सम्पन्न हुन नसके पनि निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको उक्त पुल सम्पन्न नहुँदै भासिएको हो ।

समान्य बाढीले पुल भत्काएपछि ठेकेदारले गुणस्तरहीन सामग्रीको प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयले पुल निर्माणमा प्रयोग भएको सामग्रीको जाँच हुनुपर्ने र ठेकेदार र प्राविधिकलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।

पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रक्सनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । तर, उसले सात वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले लुम्बिनी बिल्डर्सलाई १३ असारमा २०७८ मा काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो । विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले निर्माण गरिरहेको कमला पुल ४ सय ७० मिटर लम्बाइको छ ।

उता, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पुल भासिनुको कारण डिजाइन गलत भएको वा डिजाइनअनुसार ठेकेदारले काम नगरेको हुन सक्ने बताए ।

उनले सो बारे छानबिन तथा कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिए । उनले कमला नदीमा पानीको बहाव उच्च रहेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह पनि गरे ।

मापदण्ड परीक्षण गर्न मन्त्रीको माग

प्रदेश २ को भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पुलको मापदण्ड परीक्षण गर्नु आवश्यक भएको वताएका छन् ।

उनले विहिवार सामाजिक सञ्जालमा भाँसिएको पुलको फोटोसहित आफनो धारणा सार्वजनिक गर्दै मन्त्री साहले लेखेका छन्-‘हुलाकी सडक खण्डमा भासिएको कमला पुलको मापदण्ड परिक्षण गर्नु आवश्यक।’

Author:



क्याटोगरी छान्‍नुहोस