कमला नदीमा पानीको बहाव बढ्यो, सचेत रहन आग्रह

लहान ।  लगातारको अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढिरहेको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा भयभित हुन थालेका छन् ।

प्राय: हरेक वर्ष कमला नदीमा आउने बाढी असपासका गाउँमा पस्ने गरेको छ । बाढीले ठूलो क्षति पुर्‍याउँदै आएको छ ।

‘कमलामा बाढी आएसँगै मन अमिलो हुन्छ,’ सिरहा नगरपालिका- १२, सारस्वरका शिवजी यादव भन्छन्, ‘कतिबेला बाढी गाउँ पस्छ भन्ने चिन्ताले निद्रा पनि राम्ररी आउँदैन ।’ ७० वर्षका उनी आफू बुझ्ने भएदेखि नै प्रत्येक वर्ष यही चिन्ताले पिरोल्ने गरेको बताउँछन् ।

२०७६ मा बाँध भत्किँदा बाढी गाउँ पस्यो । सिरहा नगरपालिका- ६ स्थित बसपिटा गाउँ जलमग्न भयो । गाउँलेहरूको उठिबास लाग्यो । अन्नपात नष्ट भयो । बाढीपीडितहरू राहतको भर पर्नुपर्‍यो । राहत सकिएपछि एक दिन भोकै बस्नुपरेको स्थानीय बालदेव सहनी सम्झन्छन् । ‘अझै उही समस्या छ,’ उनले भने, ‘देशमा सरकार पनि छ भन्ने मलाई लाग्दैन ।’

कमलाको बाढीले पटक-पटक सिरहा र धनुषातर्फको टतबन्ध भत्काउने गरेको छ । तटबन्ध भत्किँदा आसपासका क्षेत्रमा ठूलो क्षति पुग्ने गरेको छ । तर, तटबन्ध मर्मतमा सरकारले पर्याप्त ध्यान दिएको छैन ।

सम्बन्धित निकायलाई आग्रह गर्दा बजेट अभाव भएको जवाफ दिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल बताउँछन् । ‘स्थानीय तहले पनि तटबन्ध मर्मतका लागि बजेट छुट्याउने गरेका छैनन्,’ कँडेलले भने, ‘मर्मत नहुँदा तटबन्ध कमजोर भएर भत्किने खतरा बढेको छ ।’

बाढीले तटबन्ध भत्काए आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याउने कँडेलको अनुमान छ । कमला नदीमा अहिले सिन्धुलीतर्फ ३ मिटर र सिरहा–धनुषातर्फ बहाव क्षेत्र लामो भएकाले करिब डेढ मिटर बढिसकेको उनले बताए ।

पानीको बहाब बढ्ने क्रममा रहेको र वर्षासँगै पानीको बहाव थप बढ्न सक्ने भएकाले सतर्क रहन उनले आग्रह गरे । सम्भावित जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुरक्षाकर्मी परिचालन गरिएको पनि कँडेलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस