आगामी शुक्रबार १० लाख खोप आउँदै

काठमाडौं, १९ असार । सरकारले कोरोनाविरुद्ध खोप खरिदका लागि चीनसँग गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा खोप आगामी शुक्रबार नेपाल आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलका अनुसार जुलाई ८ तारिख अर्थात् २४ असारमा खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ ।

सरकारको निर्देशनबमोजिम जुलाइ ९ तारिखमा १० लाख मात्रा खोप लिएर नेपाल फर्किने तयारी गरिएको महाप्रबन्धक पौडेलले जानकारी दिए । त्यससम्बन्धी विस्तृत ‘सेडुल’ आइतबार तयार पारिनेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । नेपालले खरिद गरेको खोप क्रमिक रूपमा भित्रने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोडको निर्धारित बजेटभित्र रहेर चीनबाट भेरोसिल खोप खरिद प्रक्रिया अघि बढाइएको थियो । हालसम्म चीनबाट २१ लाख ४८ हजार खोप प्राप्त भएको छ । यस्तै, स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएको भेरोसिल खोप प्राथमिकता रहेको सूचीका आधारमा लगाउने जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार भेरोसिल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइनेछ । उनले कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरण गरिएको र सोही आधारमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । डा. पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् ।

कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्नेछन् । यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी पनि दोस्रो प्राथमिकताको सूचीमा राखिएको छ । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएकाले उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार २६ लाख ४ हजार ८ सय ६६ जनाले खोपको पहिलो मात्रा र ७ लाख ५७ हजार ६ सय ३५ जनाले दुवै (पहिलो–दोस्रो) मात्रा लगाइसकेका छन् । हालसम्म नेपालमा ४२ लाख ४८ हजार मात्रा (कोभिसिल्ड र भेरोसिल) खोप भित्रिएको छ । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस