गणिनाथ ईट्टा उद्योगद्वारा सार्वजनिक जग्गा अतिक्रमण

राजविराज, २७ असार । सप्तरीको रुपनी गाउँपालिका–४ मा सञ्चालित बाबा गणिनाथ ईट्टा उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको खुलासा भएको छ । २०७४ साल माघ २८ गतेदेखि सञ्चालनमा आएको उद्योगले वडा नम्बर २ र ४ मा पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएपछि स्थानीयहरुले विरोध जनाएसँगै सो अतिक्रमणबारे खुलासा भएको हो ।

‘उद्योग सञ्चालनमा आएको बेला सार्वजनिक अतिक्रमण गरेको थिएन, केही वर्ष यता आएर सार्वजनिक जग्गा र सडक पनि अतिक्रमण गरेर माटो निकाल्ने कार्य गर्दै आएको छ’ रुपनी गाउँपालिका–२ का चन्द्रनारायण साहले भने–‘सो विषयमा स्थानीय सरकारलाई पनि जानकारी नभएको होइन, केही समयअघि देखि नै धेरैले गुनासो गर्न थालेपछि यहाँ भद्रभलादमीदेखि स्थानिय सरकारसम्म त्यहाँ पुगेकै हो पनि, यथपी सुनुवाइ भइरहेको छैन् ।’

अर्का स्थानीय रामलोचन प्रसाद साहले कुनै बेला त्यहाँ सडक नै रहेको बताए । ‘यो बाटो हुँदै भथौलसम्म जोड्ने सडक थियो, त्यो सडक अहिले पनि नाप नक्सामा देखिन्छ तर ईट्टानिर गएर त्यो सडक पनि अतिक्रमणको चपेटामा परेको देखिन्छ’ उनले भने–‘सार्वजनिक जग्गाको संरक्षण हामी सबै गर्नुपर्छ र संघीयता आएसँगै सार्वजनिक जग्गाको संरक्षणको महत्वपूर्ण जिम्मेवारी अहिले स्थानीय तहलाई दिएको छ तर स्थानीय तहलाई त्यति वास्ता गरेको देख्दिन् ।’

स्थानीय तहले वास्ता नगर्दा सार्वजनिक सपत्तिमा मनोमानी रुपमा प्रयोग गर्दै आएको उनको गुनासो छ । ‘उद्योग धन्धा चलाउनु राम्रो कुरा हो तर सार्वजनिक जग्गा अतिक्रमण गर्न पाउँदैन भन्ने कुरा बुझ्नु पनि जरुरी छ’ उनले भने–‘स्थानीय सरकार र स्थानीय प्रशासनले पनि यसतर्फ गम्भीरता देखाओस् ।’

के भन्छन् सञ्चालक ?

घरेलु तथा साना उद्योग कार्यालय राजविराजका अनुसार २०७४ साल माघ २८ गते तत्कालीन जमुनी मधेपुरा वडा नम्बर ९ (ग) को कित्ता नम्बर १९, ६५, ६६, ९४, १५, १०३, ९५, ७०, ९६, १८, १०५ र १०६ समेत गरी कुल ३ विगाहा ७ कठ्ठा ५ दशमलव ५ क्षेत्रफलमा ईट्टा उद्योग स्थापना भएको हो । तत्कालिन बनौली गाविस–९ का दिलिप कुमार साह र जमुनी मधेपुरा–९ का अर्जुन कुमार साहद्वारा सो उद्योग सञ्चालित रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सञ्चालक अर्जुन कुमार साहले सो स्थानमा सार्वजनिक सडक रहेको विषयमा जानकारी नरहेको बताए । ‘सार्वजनिक सडक छ भने कुरा मलाई थाहा छैन्, केही सार्वजनिक जग्गा चैं हुनसक्छ’ उनले भने–‘३/४ कठ्ठाले केही हुने होइन, त्यसैले त्यहाँ सडक नै बन्ने भयो भने हामी नै सडक बनाइदिन्छु ।’

के भन्छन् स्थानीय सरकार ?

सरकारी, सार्वजनिक, गुठी, सामुदायिक तथा पर्ती जग्गाको संरक्षणको जिम्मा सरकारको कार्यविभाजन नियमावलीले भूमि व्यवस्था मन्त्रालय र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई दिएको छ । स्थानीय तहलाई सार्वजनिक सडकको जग्गा अतिक्रमण भएको विषयमा जानकारी हुँदा पनि जग्गाको संरक्षण गर्ने सवालमा केही गर्न सकेको छैन् ।

गाउँपालिका अध्यक्ष हरेराम यादवले सार्वजनिक जग्गा अतिक्रमण भएको कुरा वास्तविकता नै रहेको बताए । ‘अतिक्रमण बारे गुनासो आएपछि हामीले स्थलगत निरिक्षण पनि गयौं, अतिक्रमण भएकै हो तर के कति जग्गा अतिक्रमण भएको विषय नाप नक्सा मात्रै यकिन गर्नसक्ने अवस्था छ’ उनले भने–‘अहिले वर्षाको मौसम रहेकाले वर्षाको मौसम सकिएलगत्तै सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी अतिक्रमण हटाउने हाम्रो तयारी छ ।’

के भन्छन् प्रजिअ ?

स्थानीय प्रशासन ऐन २०२८ मा सरकारी सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने अधिकार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई तोकिएको छ । जसअनुसार एक महिनाअघि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको आधारमा ईट्टा भट्टामा प्रहरी खटाइएको थियो । प्रहरी टोलीले ईट्टा उद्योगमा माटो खनिरहेको एउटा जेसिवी नियन्त्रणमा लिएको थियो ।

सोही राति जेसिवी छाडेर कार्यालयबाट स्थानीय सरकारलाई सो बारे यकिन गर्न लगाएको थियो । सोपछि तत्कालिन प्रजिअ फणिन्द्रमणी पोखरेलको सरुवा भएका कारण ईट्टा भट्टाबारे कसैले वास्ता नगरेको स्थानीयहरुको भनाई छ ।

यता, प्रजिअ जयनारायण आचार्यले सार्वजनिक जग्गा अतिक्रमण गर्नेमाथि कानून अनुसार कारवाही अघि बढाउने बताए । ‘सो बारे जानकारी छैन तर सार्वजनिक जग्गा अतिक्रमण गर्नेमाथि कानून अनुसार कारबाही गर्न हामी पछि हट्ने छैनौं’ उनले भने–‘सो थप बुझ्ने कार्य भइरहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस