सप्तरीमा दुई पक्षबीच कुटाकुटबाट मृत्यु प्रकरणः पाँच आरोपी दशगज्जा क्षेत्रबाट पक्राउ

राजविराज, ४ साउन । सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही वडाका ३२ वर्षीय नजबुल मियाँ, ५५ वर्षीय मो.वालिस भनिने मो.कालिस मियाँ, ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय मो.ईजराईल मियाँ र ३२ वर्षीय मो.जाकिर छन् ।

वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच गत असार २४ गते कुटाकुट भएको थियो । राजविराज–९ जगदरीका एजेन्ट मो.सनाउल मामाघर लालपट्टी पुगेका थिए । सोही क्रममा छोरालाई वैदेशिक रोजगारमा पठाए पनि राम्रो काम नपाएको भन्दै आरोपीहरु एजेन्ट सनाउलसँग विवाद भएको थियो ।

विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातीलाई बचाउन पुगेका सनाउलका नाना ७० वर्षीय मो.दाउन मियाँलाई चोट लागेर घाइते भएका थिए । उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा सोही क्रममा उनको मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका आरोपीमहरुलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद शाह, ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरिक्षक बिरेन्द्र पासवान र ईलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी नायब निरिक्षक सागीर राईन नेतृत्वको टोलीले बोदेबर्साईन नगरपालिका–९ स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिटिपी बसिरहेको अवस्थामा हिजो (आइतवार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।

घटनामा संलग्न भनिएका अन्य केही व्यक्तिको खोजी कार्य भइरहेको छ भने पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस