सप्तरीको सुरुङ्गामा खुल्यो विद्यालय, तीन सिफ्टमा पठनपाठन हुँदै

राजविराज, ११ भदौ । सप्तरीमा कोभिड–१९ महामारीका कारण बन्द रहेका विद्यालयहरु खुल्न थालेको छ । विद्यार्थीहरुको पठनपाठन प्रभावित भइरहेको कुरालाई मध्यनजर गर्दै सुरुङ्गा नगरपालिकाका विद्यालयहरु खोलिएको हो ।

कोभिड–१९ संक्रमण विरुद्ध स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालयहरु खोलिएको मेयर मुक्तिनाथ चौधरीले बताए । ‘लगभग सबै कुरा खुला नै छ, विद्यालय मात्रै कति बन्द राखेर विद्यार्थीहरुको भविष्य अन्धकार पार्ने?’ उनले भने–‘त्यसले हामी सर्वपक्षिय छलफलपछि निर्णय गरेर विद्यालय सञ्चालन गरेका छौं ।’

शिक्षक र अभिभावकहरुसँगको छलफलपछि शिक्षा समितिको सिफारिसअनुसार कार्यपालिकाबाट निर्णय गरी गत साउन १५ गतेदेखि नै विद्यालय सञ्चालन गरिएको मेयर चौधरीले बताए ।

उनले संक्रमणलाई मध्यनजर गर्दै तत्काललाई तीन सिफ्टमा विद्यालय सञ्चालन गरिएको बताए । ‘पहिलो कुरा त विहान ८ बजेदेखि ११, दिउँसो १२ बजेदेखि २ र ३ बजेदेखि बेलुकी ५ बजेसम्म गरी तीन सिफ्टमा विद्यालय सञ्चालन गरेका छौं, त्यसमा पनि एउटा बेञ्चमा २ जनासम्म मात्रै बसाएर पठनपाठन भइरहेको छ’, उनले मधेश लाइभसँग भने । सो नगरपालिकामा ३२ वटा सामूदायिक र १३ वटा निजी विद्यालय छन् ।

यता, अन्य स्थानीय तहहरुमा पनि स्वास्थ्य मापदण्डको पालना विद्यालयहरु सञ्चालन गर्न तयार भइरहेको जनाएको छ ।

यो पनिः

सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी

Author:



क्याटोगरी छान्‍नुहोस