कमला नदीको बाढी वितण्डा: बाँध भत्किने डरले रातभर जागै हुन्छन् गाउँलेहरु

जनकपुरधाम । लगातार मुसलधारे वर्षा भइरहँदा कमल नदीमा बाढीको सतह बढेको बढ्यै छ । धनुषाको सबैला नगरपालिका-१३ किरातपुरका ६० वर्षीय राम कृपाल महतो रातभर सुतेकै छैनन् । केही दिनअघि मात्र बाढीले भत्काएको बाँध तत्काल बनाइयो । तर, उनको मनबाट डर हट्न सकेको छैन ।

‘कमला नदीमा बाढीको रफ्तार बढिरहेको छ । कतिबेला बाँध भत्किन्छ त्यसको कुनै ठेगान छैन’उनी भन्छन्, ‘५–७ घण्टा अझै यस्तै पानी परिरह्यो भने बाँध बाढी खान्छ । त्यसपछि हाम्रो के हाल हुन्छ, कहाँ जाने ? तर केही नहोस् हे भगवान् !’

हरेक वर्ष वर्खायाममा त्रासमा हुन्छन् धनुषा र सिरहास्थित कमला नदी तटबन्धका लाखौँ बासिन्दा । अकाशमा कालो बादल मडारिएपछि गाउँलेको मन डराउँछ । वर्षा–बाढीका बेला आरामले सुत्न पनि पाउँदैनन् उनीहरु ।

प्रत्येक वर्ष बाढीले बाँध कटान गरिसकेपछि निरीक्षण र अनुगमन गर्नेहरुको होडबाजी नै चल्छ । तर नदी व्यवस्थापन तथा नियन्त्रणका भपर्दो उपाय खोजिँदैन । जसकारण वर्खायाममा दोहोरिन्छ बाँध निरीक्षण, कटान र डुवानको दृश्य ।

सबैला नगरपालिका–१३ किरातपुरका ३२ वर्षीय सुनिल कुमार महतो भने भत्केको स्थानमा अस्थायी रुपमा बनाएको बाँधले राहत भए पनि त्यो समस्याको सामाधान नभएको बताए । उनले निरन्तरको वर्षाले नदीमा पानीको बहाब बढेकाले अधिकांश गाउँलेहरु राति जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताए ।

‘लगातारको वर्षाले कमलामा बाढीको बहाब उच्च भए पनि आफीहरु तिरको बाँध अहिलेसम्म सुरक्षित रहेको छ,’कमला किनारका गाउँ सखुवा मरानका २५ वर्षीय शुभराज पासवानले भने । बाँध कटान भइसकेपछि मन्त्रीदेखि ‘ठूला ठूला नेताहरु’ आए पनि स्थायी रुपमा समस्याको समाधान गर्नेतर्फ कसैले चासो नलिएको उनको गुनासो छ ।

किरातपुरमा कटान भएको बाँध तत्कालका लागि मर्मत सम्भार भइसकेको कमला नदी व्यवस्थापन आयोजनाका प्रमुख एकराज भट्टराईले बताए । ‘वर्षाले नदीमा पानीको सतह बढेको भए पनि त्यस ठाउँमा बाँध भत्किने सम्भावना छैन,’बाँधको निरन्तर अवस्था बुझ्न सुपरभाइजरको रुपमा खटिएका आयोजना प्रमुख भट्टराईले जनाए ।

धनुषाको दक्षिणी भेग भने डुबानमा परेका छन् । बिहीबारदेखि परेको निरन्तर वर्षाको पानीले औरहीको देउरी, परवाहा, जनकपुरको भोइल, ओसियालगायतका गाउँ डुबानमा परेका हुन् ।

देउरी बजारको बीच सडकमा दुई फिट पानी जमेको स्थानीय अमन यादवले बताए । उनका अनुसार देउरी, परवाहा चोकबाट दक्षिणतर्फको पूरै भाग डुबानमा परेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने तटबन्धका बासिन्दाहरुलाई तत्काल डराउनुपर्ने अवस्था नरहेको बताए । यद्दपि सतर्कता अपनाउन नदी किनारका बासिन्दाहरुलाई उनले आग्रह गरेका छन् ।

गत साउन ४ र ५ गतेमात्र परेको मुसलाधारे वर्षापछि कमला नदीमा आएको बाढीका कारण धनुषाको किरातपुरमा ४ सय मिटर बाँध भत्केको थियो । त्यसलाई तत्कालका लागि ममर्त सम्भार गरिएको थियो । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसाल प्राविधिक टोलीसहित स्थलगत निरीक्षणका लागि किरातपुर पुगेकी थिइन् । कमला नदी नियन्त्रणको मास्टर प्लान र डीपीआर तयार भए पनि कार्यान्वयन नभएको मन्त्रीको भनाइ थियो ।

चुरेबाट बग्ने कमला नदीको सिन्धुली, धनुषा र सिरहामा कमलाको वारिपारि करिडोरसहितको तटबन्ध बनाएर भारतीय सीमासँग जोड्ने लिंक रोडका लागि मन्त्रालयले स्रोत परिचालन गर्ने आश्वासन बाँडेर उनी फर्किएकी थिइन् । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस