अस्पतालभित्रै कुटिए जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर

जनकपुरधाम । भदौ ११ गते दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्टेन्ट डा विनोद सिंह माथि केही युवा समूहले कालोमोसो दलेर भागे। त्यसको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीहरुले आन्दोलन पनि गरे।

यो घटना भएको एक साता बित्न नपाउँदै जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ। बिहीबार दिउँसो साढे तीन बजे केही अज्ञात समूहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्।

कुटपिट हुनुको यकिन कारण पत्ता नलागेपनि व्यक्तिगत कारण हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद यादवले बताए। अस्पतालको सेवा र बिरामीको उपचार नभएका कारण उनको कुटपिट भने नभएको उनले बताए।

उनले भने, ‘वास्तवमा सत्य तथ्य कुरा के हो भनेर हामीले पनि बुझ्न सकिरहेका छैनौ। तर अस्पतालको सेवा र बिरामीको उपचार नभएर भएको घटना भने होइन। कुटपिटको कारण चाँही व्यक्तिगत जस्तो देखिन्छ।’

ती व्यक्तिको कुटपिटबाट अहेव ठाकुर घाइते भएका छन्। उनले कुटपिट गर्ने व्यक्तिहरु विरुद्ध हालसम्म उजुरी नदिएको मेसु यादवले जानकारी दिए। यसअघि दुई दिन अगाडी पनि अस्पतालको एक जना चालक माथि कुटपिट भएको थियो।

कारण जे भएपनि अस्पतालभित्र स्वास्थ्यकर्मी माथि कुटपिट हुनु दुखको कुरा भएको उनको भनाई छ। स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने व्यक्तिहरुलाई कडा कारबाही गर्नुपर्ने उनले बताए। दोषिलाई कारबाही नभएसम्म ढुक्कसँग काम गर्ने वातावरण नहुने उनको भनाई छ।

‘हामी नै सुरक्षित हुँदैनौ भने बिरामीको उपचार कसरी गर्ने ? कुन बिरामी उपचार गर्न आएको हो या कुटपिट गर्न भनेर कसरी पहिचान गर्ने ? स्वास्थ्यकर्मीको मनमा यो डर त सधै नै हुन्छ।’ उनले भने।
घटना के भएको थियो? मेसु यादवले स्वास्थ्य खबरलाई दिएको विवरणः

बिहीवार दिउँसो साढे तीन बजे यो घटना भएको हो। कुटपिट भएका कर्मचारीको नाम देवेन्द्र ठाकुर हो। उनी यो अस्पतालमा अहेवको रुपमा कार्यरत छन्।

सबै कुरा बुझ्दा कुटपिट गर्ने व्यक्तिहरु उहाँको साथीहरु रहेछन्। उनीहरुले ड्युटीमा भएकै बेला कुरा गर्न भन्दै बाहिर लिएर गयो। त्यसपछि एक्कासी कुटपिट भएको रहेछ। सबै जना बाहिर गएपछि उनीहरु पनि भागेर गए। कुटपिटबाट उहाँ घाइते पनि हुनु भएको छ।

उनीहरु बीच पुरानो रिसवी छ की भन्ने बुझ्नमा आएको छ। देवेन्द्र जीले पनि अहिलेसम्म कुटपिट गर्नेहरु विरुद्ध कुनै उजुरी दिनु भएको छैन। वास्तवमा सत्य तथ्य कुरा के हो भनेर हामीले पनि बुझ्न सकिरहेका छैनौ। तर अस्पतालको सेवा र बिरामीको उपचार नभएर भएको घटना भने होइन। कुटपिटको कारण चाँही व्यक्तिगत जस्तो देखिन्छ।

दुई दिनअघि पनि हाम्रो अस्पतालको एक जना चालक माथि बिना कारण कुटपिट भएको थियो। आज पनि यो नयाँ घटना भयो। मानिसहरु अहिले एकदमै अराजकता हुन थालेको छ। त्यसैले सरकारले स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने दोषिलाई कडा कारबाही गरेन भने बिरामीको उपचार गर्ने वातावरण नै हुँदैन।

हामी नै सुरक्षित हुँदैनौ भने बिरामीको उपचार कसरी गर्ने ? कुन बिरामी उपचार गर्न आएको हो या कुटपिट गर्न भनेर कसरी पहिचान गर्ने ? स्वास्थ्यकर्मीको मनमा यो डर त सधै नै हुन्छ।

कोभिडको समयमा पनि एक जना बिरामीले हाम्रो चार वटा भेन्टिलेटर फुटाइ दिएको थियो। त्यो मानिसलाई हामीले जिल्ला प्रहरीमा बुझायौँ। तर पछि धरौटीमा छुटे। जेल विथ आउट बिटको माग हामीले पहिलेदेखि गरिरहेका छौँ। त्यो नहुँदासम्म यस्तो घटनामा सुधार हुँदैन।

Author:



क्याटोगरी छान्‍नुहोस