लोसपालाई झट्काः ठाकुर पक्षलाई जनप्रतिनिधि जोगाउनै हम्महम्मे

राजविराज, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भई हालै गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई सप्तरी जिल्लामा आफ्नै कार्यकर्ता जोगाउन हम्महम्मे परेको छ ।

तत्कालिन महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिहरुले समेत साथ छोडेपछि लोसपालाई समस्या भएको हो । राजपाबाट निर्वाचित पाँच पालिका प्रमुखहरुमध्ये तिलाठी कोइलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंह बाहेक अन्य पालिका प्रमुखहरु जनता समाजवादी पार्टीमै बस्ने निष्कर्षमा पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा हालसम्म एकमात्र पालिका प्रमुख सनाखत गरेका छन् । तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिका मेयर शैलेश कुमार साह, डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव जसपामै बस्ने जनाईएको छ । पालिका प्रमुखहरु एक साता अघि जनकपुरधाममा आयोजित जसपाको सुज अभियानको कार्यक्रममा समेत सहभागी भएका थिए ।

जसपाका प्रदेश सचिव एवम् प्रचार विभाग प्रमुख दिनेश कुमार यादवका अनुसार चार पालिकाका प्रमुखहरु पार्टीले आयोजना गरेका बैठकहरुमा सहभागी भई पार्टीलाई थप सबल बनाउने कार्यमा जुटेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाकै उपाध्यक्ष सुचिता कुमारी यादव जसपामै तथा तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिकाका उपमेयर साधना झाले लोसपामा सनाखत गरेका छन् । लोसपाका नेताहरु भएभरको बुता लगाएर जनप्रतिनिधि रिझाउन प्रयासरत रहे पनि उनीहरुको तटस्थतताका कारण परिणाम भने शुन्य जस्तै देखिएको छ ।

जसपाबाट बोदेवर्साइन नगरपालिका, खडक नगरपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका र बलान बिहुल गाउँपालिका सहित पाँच पालिकाको प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित भएका थिए । पार्टी एकीकरण भएपछि नयाँ शक्ति पार्टीबाट सूर्यनारायण मण्डल समेत गरी जसपाको ६ पालिकामा प्रमुख रहेका छन् ।

राजपाका चार पालिका प्रमुख जसपामै रहने भएपछि अब जसपाको पक्कडमा १० ओटा पालिका भएको छ । लोसपाले अब एक मात्र तिलाठी कोइलाडी गाउँपालिकामै चित्त बुझाउनुपर्ने अवस्था रहेको श्रोतले जनाएको छ । कुल १८ पालिका मध्ये अब १० ओटा पालिकामा जसपाको नेतृत्व स्थापित भएको छ ।

लोसपाको पक्षमा सनाखत गर्नेहरु गईसकेको तथा संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर जनप्रतिनिधिहरु स्वतः जसपामै रहेर सङ्गठनको हितमा काम गरिरहेको पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।

अहिले विभिन्न सञ्चारमाध्यममा जसपा छाडेर लोसपामा भनी भ्रामक प्रचार भईरहेको बताउँदै उनले भने ‘लोसपाले त तत्कालिन राजपाबाट जितेका जनप्रतिनिधिहरुलाई जोगाउन सकिएको छैन, तत्कालिन संघीय समाजवादी फोरमबाट चुनाव जितेका जनप्रतिनिधिहरु कति जना लोसपामा सनाखत गरे त ? यो कुरा सबैले बुझ्नु जरुरी छ ।’

निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई दल रोज्न भदौ २२ गतेसम्म समयसिमा दिईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780