भ्रममा नपरौं, तथ्य बुझौं, जसपा थप मजबुत भएको छः नेता साह

राजविराज, १८ भदौ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधरहरु जसपामै अटल रहेको बताएका छन् ।

शुक्रबार ‘मधेशलाइभ’सँग कुराकानी गर्दै उनले जसपाको विषयमा भ्रम फैलाउने कार्य भईरहेकोले त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गरेका गरेका छन् । जनता समाजवादीमा लागेका नेता तथा कार्यकर्ताहरु जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न सक्षम रहेको बताउँदै नेता साहले भने ‘भदौ २२ गतेसम्म प्रतिगमन रोज्ने कि अग्रगमनको पक्षमा तटस्थ रहने ? यो महत्वपूर्ण समय हो, यही समयमा काग र कोइलीको हुन्छ, यो कार्यमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले देखाएको साहसको मूल्याङ्कन पार्टी र जनताले गर्नेछन् ।’

लोसपाको पक्षमा सनाखत गर्नेहरु गईसकेको तथा संघीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर जनप्रतिनिधिहरु स्वतः जसपामै रहेर सङ्गठनको हितमा काम गरिरहेको पार्टीका कार्यकारिणी सदस्य साहले बताए ।

अहिले विभिन्न सञ्चारमाध्यममा जसपा छाडेर लोसपा रोजेको भनी भ्रामक प्रचार भईरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने ‘लोसपाले त तत्कालिन राजपाबाट जितेका जनप्रतिनिधिहरुलाई जोगाउन सकेका छैन, तत्कालिन संघीय समाजवादी फोरमबाट चुनाव जितेका जनप्रतिनिधिहरु कति जना लोसपामा सनाखत गरे त ? यो कुरा बुझ्नु जरुरी छ ।’

नियोजित रुपमा गरिएका प्रचारबाजीहरु धेरै दिनसम्म नटिक्ने तर्क गर्दै उनले भदौ २२ गते साँझसम्म परिणाम जनतासामु छर्लङ्ग हुने बताए । ‘आफ्नै जनप्रनिधि जोगाउन नसक्नेहरुले जसपाको बारेमा चिन्ता लिनु आफैमा हास्यास्पद हो’ उनले थपे ‘प्रतिगमनकारी लोभीहरु पार्टी छाडेर गईसकेपछि पार्टीमा झन शुद्धिकरण भएको छ, भ्रमको पछाडि नलागौं, सङ्गठन विस्तारमा लागौं ।’ मधेशी, दलित, आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको साझा थलोको रुपमा जसपा स्थापित भएको जसपा नेता साहले अधिकारप्राप्तिको आन्दोलनमा थप सशक्त भएर जसपा अगाडि बढिरहेका बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस