महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

जनकपुरधाम । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ ।

साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ ।

नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले देशमा अब सहशिक्षा अर्थात पुरुष र महिलालाई एकसाथ अध्धयनको अनुमति दिइने छैन ।

हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने बताएका हुन् । उनले विश्वविद्यालयमा पढाई हुने विषयको समीक्षा गरिने पनि घोषणा गरे ।

सन् १९९६ देखि २००१ बीचमा तालिबानको पहिलो शासन कालका बेला पनि अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।

तालिबान शासनले नयाँ उच्च शिक्षा नीतिको घोषणा राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएइको भोलिपल्ट गरेको हो । नयाँ नीति अफगानिस्तानमा तालिबानले कब्जा गर्नु पहिले भन्दा निकै भिन्न छ ।

पहिला विश्वविद्यालयमा सहशिक्षालाई अनुमति दिइएको थियो जहाँ पुरुष र महिला एक साथ अध्ययन गर्थे र छात्रारूलाई ड्रेस कोडको पालना पनि अनिवार्य थिएन ।

तर ती नियमहरू भंग गर्दै तालिबान शासनले नयाँ नीति लिएको छ । देशका बासिन्दा मुस्लिम भएका कारण यो नियम लागू गर्न कसैले असहज नमान्ने पनि मन्त्री हक्कानीले दाबी गरे ।

उनले भने, ‘हामीलाई सहशिक्षा व्यवस्था अन्त्य गर्न कुनै समस्या छैन । मानिसहरू मुसलमान छन् र यसलाई स्वीकार गर्नेछन् । ’

केहीले नयाँ नियमका आधारमा महिलाहरू शिक्षाबाट बञ्चित हुन सक्ने बताएका छन् । विश्वविद्यालयमा अलग कक्षा सञ्चालनका लागि पर्याप्त जनशक्ति नरहेको उनीहरूको चिन्ता छ ।

तर हक्कानीले महिला शिक्षकको संख्या पर्याप्त रहेको दाबी गर्दै अभाव रहेका स्थानमा अन्य विकल्प अपनाइने बताए ।

उनले भने, ‘यो सबै विश्वविद्यालयको क्षमतामा निर्भर रहन्छ । हामी पर्दा राखेर पुरुष शिक्षक या अन्य प्रविधिको प्रयोग पनि गर्न सक्छौँ ।’

उनले देशका प्राथमिक र माध्यमिक विद्यालयमा छात्रा र छात्रलाई अलग–अलग शिक्षा दिइने बताए । अब छात्राहरूले हिजाब लगाउनुपर्ने पनि उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस