नक्कली नोट र नोट बनाउने कागजसहित पाँच जना पक्राउ

जनकपुरधाम । बारा र रौतहटबाट प्रहरीले नेपाली नक्कली नोट र नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरेको छ। उनीहरू निजगढ नगरपालिका–८ स्थित तारा इन होटलबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने सुनीलकुमार राम, सोही स्थानका रवीन्द्रकुमार चौधरी, बाराको करैयामाई गाउँपालिका–५ बस्ने विश्वेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने सागर शुक्ला सोही स्थान घर भई विश्रामपुर गाउँपालिका–५ इटियाही टोल बस्ने राजु कुशवाहा रहेको बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

निजगढको होटल तारा इनमा कोठा भाडा लिई केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको शाहीले बताए।

पक्राउ परेकाहरूको साथबाट नक्कली नेपाली एक हजार दरको २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा १४ च ९३८२ नम्बरको स्कोरपियो गाडी बरामद भएको थियो।

पक्राउ परेकामध्ये सुनीलकुमार रामको घरमा नक्कली नोट बनाउने कागजात लुकाइ छिपाई राखेको जानकारीपश्चात् उनको घरबाट पनि नेपाली एक हजार दरका नोट अकारको प्रति गड्डी सय थान भएको ९३ गड्डी कागज, नेपाली एक हजार दरको नोट ३९ थान र बी आर ०५ क्यु नम्बरको एक थान मोटरसाइकल १ र प्रदेश २–०३–००१ प ४२६५ नम्बरको एक थान गरी दुई थान मोटरसाइकल बरामद गरिएको बारा प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस