जनप्रतिनिधिको मोबाइल र ल्यापटप मोहः पौने १८ लाख सरकारी बजेट स्वाहा

राजविराज, ३१ भदौ । सप्तरीका जनप्रतिनिधिहरुले ऐनमा तोकेभन्दा बाहिर गएर पनि सेवा–सुविधा लिएको पाइएको छ ।

प्रदेश २ अन्तर्गत रहेका स्थानीय तहका पदाधिकारीहरुले पाउने सुविधा सम्बन्धि ऐन २०७७ को दफा ५ अनुसार मोवाइल तथा ल्यापटप लगायतका सामग्रीहरुमा सरकारी बजेट खर्च गर्ने व्यवस्था छैन् । तर, यहाँका केही स्थानीय तहका जनप्रतिनिधिले लाखौं रुपैयाँ मोवाइल तथा ल्यापटपमा खर्च गरेको पाइएको हो ।

आर्थिक वर्ष ०७६/०७७ को महालेखा परीक्षण प्रतिवेदनका अनुसार डाक्नेश्वरी, सप्तकोशी र कञ्चनरुप नगरपालिका तथा राजगढ, छिन्नमस्ता र रुपनी गाउँपालिकाका जनप्रतिनिधिले १७ लाख ७५ हजार ४४६ रुपैयाँ मोवाइल तथा ल्यापटपमा खर्च गरेका छन् ।

डाक्नेश्वरी नगरपालिकाका ५३ जना जनप्रतिनिधिले ७ लाख ४८ हजार ६२५ रुपैयाँ बराबरको ५३ थान मोवाइल सेट खरिद गरेको छ । सोही नगरपालिकाकी उपमेयर इन्दु देवी यादवले अघिल्लो वर्षहरु पनि चार थान मोवाइल सेट खरिद गरेको प्रतिवेदनमा देखिन्छ । सो मोवाइल सेटहरु फिर्ता पनि नगरेको पाइएकोले असुल उपर गर्न प्रतिवेदनमा भनिएको छ ।

यसैगरी, कञ्चनरुप नगरपालिकामा पनि मोवाइल र ल्यापटप वापत ४ लाख ७५ हजार ८५२ रुपैयाँ खर्च देखिन्छ । जसमा ५३ थान नोकिया मोवाइलको १ लाख ५९ हजार रुपैयाँ र २ थान ल्यापटप खरीदमा ३ लाख १६ हजार ८ सय ५२ रुपैयाँ खर्च गरेकोमा सो रकम अनियमित भएको प्रतिवेदनमा ठहर गरिएको छ ।

छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिले २ लाख ३१ हजार ५८० रुपैयाँ बराबरको ११ थान मोवाइल खरिद गरिकोमा सो खर्च पनि अनियमित देखाएको छ ।

यसैगरी सप्तकोशी नगरपालिकाका जनप्रतिनिधिले ६४ हजार १ सय ८४ रुपैयाँ, रुपनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले १ लाख १८ हजार ३८९ रुपैयाँ र राजगढ गाउँपालिकाका जनप्रतिनिधिले १ लाख ३६ हजार ६१७ रुपैयाँ बराबरको मोवाइल नियम विपरित खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस