प्रदेश २ : आन्दोलित इन्जिनियरहरू बसे आन्तरिक मामिला मन्त्रालयअगाडि धर्नामा

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा सरसफाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर राजेश कुशवाहालाई गरेको दुर्व्यवहारको विरोधमा पेसागत इन्जिनियरहरू आन्तरिक मामिला मन्त्रालयमा धर्नामा बसेका छन् ।

आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा पेन डाउन गरेका इन्जिनियरहरू आन्तरिक मामिला मन्त्रालयअगाडि धर्नामा बसेका हुन् । बिहीबार राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई दुर्व्यवहार गरेको भन्दै इन्जिनियरहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनले शनिबार जारी गरेको अपिल अनुसार पेसागत इन्जिनियरहरूले आज पेन डाउनसँगै जिल्ला प्रशासन कार्यलय र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै धर्ना दिएको इन्जिनियर गोविन्द यादवले जानकारी दिए ।

इन्जिनियरहरूले घटना घटेकै दिन धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई भेटेर दोषीमाथि कारबाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका थिए । शुक्रबार इन्जिनियर्स एसोसिएसनहरूको संयुक्त आन्दोलनमा आपराधिक गतिविधिमा संलग्न जनमत पार्टीका कार्यकर्तामाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको थियो । साथै उनीहरूले राउतको इन्जिनियर सदस्यता पनि खारेज गर्न माग गरेका थिए ।

‘हाम्रो माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी रहनेछन्,’ नेपाल इन्जिनियर्स एसोसिएसनका सह–सचिव भावेश मिश्रले भने । इन्जिनियरहरूको आन्दोलनले गर्दा मन्त्रालयदेखि स्थानिय निकायको कामकाज ठप्प भएको छ भने सेवाग्राही मारमा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा सेवा लिन पुगेका रवि सदा भन्छन्, ‘शुक्रबारदेखि नसा पासको काम गराउन आइरहेको छु तर इन्जिनियर नै भेटेको छैन ।’

Author:



क्याटोगरी छान्‍नुहोस