सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै, अझै ४ लाख पुराना आवेदकको परीक्षा हुन बाँकी

जनकपुरधाम । । यातायात व्यवस्था विभागले ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले यही साताको अन्तिमबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आउँदो शुक्रबारदेखि नयाँ आवेदन खुलाउने तयारी भएको जानकारी दिए । ‘‘शुक्रबारसम्म नयाँ आवेदन खुलाउने तयारी छ । कोटा सिस्टम लागु गरेर नयाँ आवेदन खुलाउँछौँ,” उनले भने ।

यस्तै, विभागका प्रवक्ता डा. लोकनाथ भुसालले दैनिक कति आवेदकले आवेदन दिन पाउने भनी कोटा सिस्टम लागु गरेर आवेदन खुलाइने जानकारी दिए । नयाँ आवेदन खुलाएर तत्काल नयाँ आवेदकको परीक्षा भने नहुने उनले बताए ।

‘‘नयाँ आवेदन खुलाए लगत्तै परीक्षा हुनेछैन । उनीहरूले ट्रायल परीक्षा दिन मंसिर पुससम्म पर्खिनु पर्नेछ । पहिलेदेखि नै ६ लाख पुराना आवेदकको परीक्षा आधाआधि पनि भएको छैन,” प्रवक्ता भुसालले भने ।

विभागकाअनुसार देशभरबाट एक दिनमा पाँच हजार जनाले आवेदन दिन पाउनेछन् । देशभरका २१ ओटा यातायात कार्यालयहरूबाट दैनिक पाँच हजार जनाले आवेदन भर्न पाउनेछन् ।

अझै ४ लाख पुराना आवेदकको परीक्षा हुन बाँकी
विभागले अझै चार लाख पुराना आवेदकको परीक्षा बाँकी रहेको जनाएको छ । प्रवक्ता भुसाल भन्छन्, ‘‘हाम्रो सिस्टममा चार लाख आवेदकले परीक्षा दिन बाँकी देखिएको छ । पुराना आवेदकको परीक्षाको टुंगो नलगाइ तत्काल नयाँ आवेदकको परीक्षा गर्ने कुरा भएन,” उनले भने ।

नेपालमा दोस्रो चरणको कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । उक्त समयदेखि लाइसेन्सको नयाँ आवदेन रोकिएको थियो ।

स्मार्टकार्ड आउँन अझै दुई महिना लाग्ने
विभागले खरिद गरेका सवारी अनुमति पत्र (लाइसेन्स) छाप्ने स्मार्ट कार्ड आउन अझै दुई महिना लाग्ने जनाएको छ । विभागले करिब ६ महिनादेखि नै स्मार्ट कार्डको अभावले स्मार्ट लाइसेन्स छपाइ बन्द गरेको छ । एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण पनि सँगै थालिएको छ ।

विभागले हाल विदेश जाने नागरिक र अन्य अत्यावश्यक परेका नागरिकहरूका लागि मात्रै लाइसेन्स छापिरहेको छ । विभागले खरिद गरेका स्मार्ट लाइसेन्स आउन अझै दुई महिनाजति लाग्ने भएकाले तत्काल लाइसेन्स छपाइ सुरु गर्न सकिनेछैन । विभागले एक फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउनेगरी सम्झौता गरेको थियो ।

उपत्यकाभित्र ट्रायल सेन्टर थप्ने तयारी
सरकारले उपत्यकाभित्र सवारी लाइसेन्सको ट्रायल सेन्टर थप्ने तयारी गरेको पनि विभागले जनाएको छ । महानिर्देशक घिमिरेकाअनुसार रोकिएका परीक्षा सञ्चालन गर्न र नयाँ आवेदनको परीक्षा सञ्चालन गर्न ट्रायल सेन्टर थप्ने तयारी भएको हो । ‘‘ट्रायल सेन्टर थप्ने निष्कर्षमा विभाग पुगेको छ । यसका लागि सम्बन्धित निकायसँग पनि छलफल भइसकेको छ । वाग्मती प्रदेश सरकारसँग समन्वय गरेर ट्रायल सेन्टर थप्ने तयारी छ,” महानिर्देशक घिमिरेले भने ।

पछिल्लो समय उपत्यकामा चारओटा यातायात कार्यालयहरू एकान्तकुना, ठुलो भर्‍याङ, चाबहिल, भक्तपुरबाट ट्रायल परीक्षा हुने गरेको छ । यी चारओटा यातायात कार्यालयहरूबाट परीक्षा सञ्चालन हुँदा अत्याधिक चाप हुने भएकाले नयाँ ट्रायल सेन्टर थप्ने तयारी गरिएको विभागको भनाइ छ ।

प्रशस्त ट्रायल सेन्टरको व्यवस्था नहुँदा अहिलेसम्म जम्मा दुई लाखजना पुराना आवेदकले मात्रै ट्रायल परीक्षा दिन पाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780