सनराइज बैंकको ठगी धन्दाः ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट साढे ४ लाख झ्वाम !

विद्यानन्द राम/सौरभ यादव
राजविराज, ७ कार्तिक । बैंकबाट सर्वसाधारण ठगिएका घटना नौला होइनन् । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यापार व्यवसाय सञ्चालन गर्न ऋण लिएका हुन्छन् । बैंकको सर्तअनुसार कारोबार नभएको अवस्थामा पनि ‘किस्ता’ तिर्नुपर्ने बाध्यता हुन्छ । किस्ता नतिर्दा घरजग्गा लिलामी हुने पीरले । तर, किस्ता तिरेर ऋण फर्छ्यौट गर्दा (फुकुवा लेटर पाइसक्दा)पनि सनराइज बैंक शाखा राजविराजले खातामा रहेको ४ लाख ४१ हजार ८३६ रुपैयाँ ७७ पैसा (पेनाल्टी बाहेक) झ्वाम पारेको पाइएको छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ बोदे बरसाइनका कृष्णदेव भगतले आइतवार राजविराजमा पत्रकार सम्मेलन गर्दै बैंकबाट आफु ठगिएको दावी गरेका छन् । ‘चेक दिएको पाटी (व्यवसाय गर्ने व्यक्ति)ले खातामा पैसा नै छैन भनेपछि आफुलाई विश्वास नै लागेन्’ उनले भने–‘र म बैंक पुगेर भेरिफाइ गर्न खोजे तर बैंकले सिस्टमको गडबडीले त्यसो भएको हुनसक्ने भने र पछि फिर्ता आउछ भनेर विश्वास दिलायो पनि ।’

तर पनि रकम फिर्ता नपाएपछि शाखा प्रबन्धकलाई दुखेसो गर्न पुग्दा त्यहाँबाट पनि दुर्व्यवहार नै खेप्नु परेको भगतको आरोप छ । ‘राजविराज ब्राञ्चका म्यानेजर मुकेश कुमार साहको भर्सन फरक पाए, सिस्टमले खायो अरे । अब रकम फिर्ता हुँदैन भनेर उहाँले भन्नुभयो’ भगतले पत्रकार सम्मेलनमा भने–‘पुरानो लोनको ओडी बाँकी थियो भन्नुहुन्छ तर मैले त सबै ओडी फर्छ्यौट गरेर फुकुवा लेटर पनि पाइसकेको छु र सो जग्गाबाट त अर्को बैंकमा लोन पनि लिइसकेको छु म्यानेजरलाई भने । मानौं ओडी बाँकी नै हुन्थ्यो भने चार महिनासम्म बैंकले मलाई ताकेदा गर्दैन थियो र?’

त्यसपछि म्यानेजर रिसाएर अनावसनाव नै भनेर दुर्व्यवहार गरेको उनले बताए । ‘हामीलाई नै बैंकको नियम पढाउने जानुस् के गर्नुछ गर्नुस् अब रकम फिर्ता हुँदैन उहाँले यसै भन्नुभयो’ भगतले भने–‘त्यसपछि बाध्य भएर पत्रकार गुहार्नुपर्यो ।’

भगतकाअनुसार ‘मणि किराना पसल’को नाममा राजविराज शाखामा रहेको खाता नम्बर ०२४१०२५३८३१०१५ को गत असार ९ गते (२३, जून २०२१) गते नै ओडी फर्छ्यौट गरेर असार १३ (२७, जून २०२१) गते बैंकबाट फुकुवा लेटर पनि पाइसकेको छ ।

तर, असोज ३१ गते आएर खाताबाट ५ हजार ३२९ रुपैयाँ ४२ पेनाल्टी र ४ लाख ४१ हजार ८३६ रुपैयाँ ७७ पैसा काटेको भगतको कथन छ । अब्बल दर्जाको बैंक भन्दै प्रचार गराउने सनराइज बैंक आफुलाई गरेको ठगी गरेको भन्दै भगतले न्यायको लागि सबैमा आग्रह गरे ।

उता, सनराइज बैंक शाखा राजविराजका प्रबन्धक मुकेश कुमार साहले सिस्टममा ग्राहकमाथि ओडी रकम नदेखाएका कारण फुकुवा लेटर दिइसकेको बताए । ‘त्यो सिस्टमको गडबडी हो, ओडी बाँकी नै रहेकोले खातामा पैसा आएपछि त्यसो रकम काटिएको हो’ उनले भने–‘ग्राहकबाट त्यस्तो कुरा आइसकेपछि हामीले केन्द्रीय कार्यालयमा पनि जानकारी गरायौं र त्यहाँबाट नै सिस्टममा गडबडी भएको विषय भेरिफाइ भयो ।’ यद्यपी, आफुले ग्राहकलाई दुर्व्यवहार नगरेको प्रबन्धक साहको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780