तीन जिल्ला प्रहरी प्रमुखमाथि ‘एक्सन’

काठमाडौं । पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन् । पदीय जिम्मेवारीअनुरूप काम नगर्दा संगठनको साख नै गिरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले दुई जिल्ला प्रमुख र सशस्त्र प्रहरी मुख्यालयले एक जिल्ला प्रमुखमाथि ‘कारबाही’ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरूप प्रदेश दुईका दुई जिल्ला धनुषा र सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) परिवर्तन गरेको छ । धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । यी दुवै एसपीको काज सरुवा गरिएको हो ।

प्रहरी प्रधान कर्यालयले धनुषामा रानाभाटको ठाउँमा एसपी वसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईंलाई पठाउने भएको छ । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाईं प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत छन् ।

यस्तै, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सर्लाहीस्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर प्रदेश ३ गढीमाई बाहिनीमा कार्यरत एसपी भरत खनियाँलाई गणको जिम्मेवारी सुम्पेको छ ।

प्रहरी प्रधान कार्यालयले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक सरकारी कार्यालयका प्रमुखलाई अर्धनग्न बनाई बजार घुमाएको घटनामा धनुषा प्रहरी प्रमुख एसपी रानाभाटको काज सरुवा गरेको हो । जनमत पार्टीका कार्यकर्ताले निर्वस्त्र बजार घुमाउँदा पनि ‘मुकदर्शक’ बनेको भन्दै सुरक्षा निकायको चर्काे आलोचना भइरहेको छ । यो घटनामा प्रहरी प्रधान कर्यालयले एसपी रानाभाटलाई जिम्मेवारीबाट हटाए पनि सशस्त्र मुख्यालयले भने धनुषाका एसपी नरेन्द्र सेनलाई यो समाचार लेख्दासम्म जिम्मेवारीमुक्त गरेको छैन । यद्यपि, सेनलाई पनि जिम्मेवारीमुक्त गर्न सशस्त्र मुख्यालयमाथि चर्काे दबाब छ ।

सर्लाहीका नेपाल प्रहरीका एसपी राठोर र सशस्त्रका एसपी श्रेष्ठलाई भने तस्करी खुला गरेको, तस्करीकै भोज खाएको र सार्वजनिक ठाउँमा तास खेलेको अभियोगमा ‘एक्सन’ लिइएको हो । उनीहरूसँग ‘मोजमस्ती’ गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई भने गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

समाचार स्रोतका अनुसार गत २६ भदौको घटनामा उनीहरूमाथि ‘एक्सन’ लिइएको हो । त्यस दिन सर्लाहीस्थित मनुसमारा बेस क्याम्प र मधुवनी बेस क्याम्पका प्रमुखले धेरै कमाएको भन्दै भोजको आयोजना गर्न लगाइएको थियो । भोजमा प्रमुख जिल्ला अधिकारी महतो र एसपीद्वय राठोर र श्रेष्ठ थिए । उनीहरूले सार्वजनिक ठाउँमा तास खेल्दै भोज भतेर गरेको भिडियो सार्वजनिक भएपछि कारबाहीका लागि दबाब बढेको थियो ।

छतौना बेस क्याम्पका प्रमुख इन्स्पेक्टर सन्जीप तिवारी र मधुवनी बेसका इन्स्पेक्टर फणीन्द्र गोलेले उनीहरूको ‘सम्मान’मा भोजभतेर कार्यक्रम आयोजना आयोजना गरेका थिए । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780