बढ्न थाल्यो वैदेशिक रोजगारीमा जानेहरूको संख्या, दुई महिनामा ६१ हजार विदेशिए

जनकपुरधाम । चालू आर्थिक वर्षको दुई महिनामा ६१ हजार नेपाली रोजगारीको खोजिमा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत व्यक्तिगत–नयाँ र वैधानिकीकरण अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३८ हजार ४ सय ९२ छ । त्यस्तै पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या २२ हजार ९ सय ७६ जना रहेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा (साउन, भदौ र असोज) करिब ८० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएको विभागले जनाएको छ । असोज महिनाको पूर्ण विवरण भने आइसकेको छैन ।

अघिल्लो वर्षको सोही अवधिमा कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या संस्थागतमा ९९.२ र व्यक्तिगतमा ८६.५ प्रतिशतले घटेको थियो ।

चालू आर्थिक वर्षमा भने संस्थागत तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रममा उल्लेख्य रूपमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बैंकको प्रतिवेदनमा विप्रेषण आप्रवाह भने ६.३ प्रतिशतले घटेर १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ कायम भएको जनाइएको छ । चालू आर्थिक वर्षको साउनमा रेमिट्यान्स १८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

कतार, यूएई, साउदी अरब, ओमान, कुवेत र बहराइनले कोरोना महामारीमा समेत रोजगारीका लागि कामदार लिँदै आएका थिए । ती देशहरूमा ठूलो संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका छन् । कोरोना भाइरसको संक्रमण सामान्य बन्दै गएपछि यी देशबाट धेरै माग आउन थालेको म्यानपावर कम्पनीहरूले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस