मधेश आन्दोलनका शहिद परिवारलाई ३–३ लाख उपलब्ध गराइनेः अर्थमन्त्री साह

कमलकुमार मण्डल
राजविराज, २६ पुस । प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले मधेश आन्दोलनका शहिद परिवारलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् । सोमवार २८ औं ‘लोकेन्द्र स्मृति दिवस’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा ५७ शहिद परिवारलाई आयआर्जन गर्ने उदेश्यले ३–३ लाखका दरले उपलब्ध गराइने निर्णय भएको मन्त्री साहले बताए । त्यसैगरी घाइतेहरुलाई पनि २५ हजारदेखि ३ लाखसम्म उपलब्ध गराइने उनले बताए ।

मन्त्री साहले पत्रकारिता क्षेत्रको समग्र विकासकालागि प्रदेश सरकार सदैव तयार रहेको बताए । सोही कार्यक्रममा प्रदेश २ का आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सञ्चारकर्मीहरुको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

उनले पहिलो चरणमा प्रदेशभरका ८ सय जना सञ्चारकर्मीहरुको स्वास्थ्य बीमाकासाथै प्रेस कार्ड वितरण गर्ने कार्यको पनि तयारी थालिएको बताए ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादव, प्रदेश २ का मिडिया काउनसिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई, महासंघका प्रदेश सचिव भोला पासवान, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वरीष्ठ पत्रकार अनिल अनल, महासंघका केन्द्रिय सदस्य ललिता साह र पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघ शाखा सप्तरीका पुर्व अध्यक्षहरु वैधनाथ झा, धिरेन्द्र प्रसाद साह, मुरली प्रसाद यादव र विष्णु मण्डल लगायतकाले मन्तव्य व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन महासंघ शाखा सप्तरीका सचिव रामनारायण विश्वासले गरेका थिए भने कार्यक्रममा पत्रकार मनोहरकुमार पोखरेलले स्वर्गीय लोकेन्द्र बुढाथोकीको संक्षिप्त जीवनीमाथि प्रकाश पारेका थिए । सोही कार्यक्रममा स्वर्गीय पत्रकार उमा सिंहको १३ औं स्मृति दिवसमा १२ औं वातावरणीय पत्रकारिता पुरस्कार पत्रकार महेन्द्र सदालाई प्रदान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस