प्रदेश १ मा मन्त्रालय फुटाएपछि एमालेको विरोध

विराटनगर । प्रदेश १ मा ७ वटा मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णय फिर्ता नलिए मन्त्रीहरूका गाडी चल्न नदिने मोरङका एमाले निकट २३ वटा भ्रातृ संगठनहरूले चेतावनी दिएका छन् । मन्त्रालय फुटाउने प्रदेश सरकारको निर्णयविरुद्ध एमाले सम्बद्ध भ्रातृ संगठनहरूले मंगलबार विराटनगरमा सडक पत्रकार सम्मेलन गर्दै मन्त्रालय फुटाउने निर्णय फिर्ता लिन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचनको घोषणा, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण, नेपाली भूमिमा भारतीय हस्तक्षेप रोक्न, किसानलाई मलखादको व्यवस्था, आर्थिक संकटको अन्त्य र नागरिकहरूलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न समेत माग गरेका छन् । पत्रकार सम्मेलनमा युवा संघ र अनेरास्ववियुसम्बद्ध नेताहरूले मन्त्रालय फुटाउने निर्णय फिर्ता नगरे मन्त्रीहरूका गाडीलाई जहाँसुकै पनि अवरोध गरिने बताए ।

जनताबाट विकास निर्माणका लागि उठाएको करलाई मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश सरकारले मन्त्रीहरूलाई जागिर खुवाउनका लागि प्रयोग गरेको उनीहरूले आरोप लगाए । जनताको करको दुरूपयोग गरेर सत्ता टिकाउन खोजेको भन्दै एमाले निकट भ्रातृ संगठनका नेताहरूले बताए ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा वर्तमान देउवा सरकार निर्वाचन घोषणा नगरेर प्रतिगमनको बाटोमा अग्रसर भइरहेको आरोप लगाइएको छ । नेपाल समाचरपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस