जनकपुर–पोखरा उडान : प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

जनकपुरधाम । जनकपुरधामबाट पर्यटकीय नगरी पोखराका लागि हवाई उडान सुरु भएको छ। जनकपुरधाम–पोखरा हवाई उडान बिहीबार सुरु भएको हो।

जनकपुरधामस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरका अनुसार जनकपुरधाम–पोखरा उडान सातामा तीन दिन हुनेछ। पछि यात्रुको चाप र मागअनुसार उडान नियमित गरिनेछ। अहिले साताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि बुद्ध एयरले उडान भर्ने उनले बताए।

दुई सहरबीच हवाई उडान सुरु भएपछि जनकपुरधाम आउने पर्यटक अब सहज र सुरक्षित रूपमा हवाई यात्रामार्फत प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरी पोखरा पुग्नेछन्। र, पोखराबाट पनि हवाईमार्ग भएर पर्यटक धार्मिक र सांस्कृतिक नगरी जनकपुरधाम आउनेछन्।

हवाई उडान सुरु भएपछि दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। गत असोजमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणामा पोखरा भ्रमण गएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दुई पर्यटकीय सहरलाई हवाई उडानले जोड्नुपर्ने प्रस्ताव गरेका थिए।

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्। नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस