थप इन्धन खरीद गर्न नसक्ने अवस्थामा आयल निगम

जनकपुरधाम । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।

सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको मूल्य बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्छ । मूल्य बढेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न नसक्ने अवस्था आएको बताएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सन् २०२१ मा प्रतिव्यारेल ७० डलर रहेको तेलको मूल्य अहिले झन्डै दोब्बर भएको छ । २०२० अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ४१ डलर थियो भने २०१९ मा ६४ डलर । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएको हो । तीनवटा तेल उत्पादक गर्ने देशहरूमध्ये रुस एउटा मुख्य देश हो । । संसारमा धेरै तेल उत्पादन गर्ने देशहरूमा अमेरिका, साउदी अरेयिबा र रुस हुन् । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गएकाले खरिद गर्न नसक्ने अवस्थामा पुगेको बताए । “लगातार मूल्य बढिरहेको छ । यस्तै अवस्था रहने हो भने निगम घाटामा गएर संस्था नै कसरी टिकाउने भन्ने अवस्थामा पुग्छौं,” उनले भने । लगातार मूल्य बढेर आएकाले अर्काे महिनादेखि निगम मासिक १० अर्ब घाटामा जाने देखिएको उनले जानकारी दिए । रुस–युक्रेन युद्धको असर कच्चा तेलमा मात्रै नभई सुन, चाँदी र स्टक मार्केटमा समेत परेका जानकारहरू बताउँछन् । रुसको तेल नकिन्न अमेरिकालाई चौतर्फी दबाब सिर्जना भइरहेका बेला कच्चा तेलको मूल्य यसै महिना दुई सय डलर पुग्ने अनुमान व्यापारीहरूले गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट खरिद गरेको कच्चा तेललाई प्रशोधन गरेर त्यसै अनुसारको लागत थपेर भारतले नेपाललाई बिक्री गर्छ । जीटुजी सम्झौता अनुसार खरिद गरिएको तेलको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार नै तय हुन्छ । त्यसैले कच्चा तेलको मूल्य वृद्धिले नेपाली बजार पनि प्रभावित हुन्छ ।

गत बिहीबारमात्रै आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइसकेको छ । मूल्य बढाउँदा पनि १५ दिनमा २ अर्ब ५० करोड घाटामा गएको निगमको भनाइ छ ।

सरकारले सवा चार अर्ब दिने

सरकारले नेपाल आयल निगमलाई तेल खरिद गरेको रकम भुक्तानी गर्नका लागि ४ अर्ब २५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको बैठकले आईओसी लाई ८ मार्चमा बुझाउनुपर्ने सम्झौताअनुसारको पहिलो किस्ता अपुग भएकाले सो रकम उपलब्ध गारउने निर्णय गरेको हो ।

यसअघि कोषमा रहेको १ अर्ब ८० रकम निगमले निकासा गरिसकेको छ । तेल खरिद गरेबापत आईओसीलाई ८ मार्चमा साढे १४ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ । कोषमा १० अर्ब २५ करोड रुपैयाँ बचत भएको र ४ अर्ब २५ करोड रुपैयाँ अपुग भएको भन्दै निगमले मन्त्रालयसँग माग
गरेको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस