प्रियासिंह थारु
राज्य पक्षले महिलाको लागि ३३ प्रतिशत संबैधानिक अधिकार हरेक निकायमा सुनिश्चितता गरेता पनि महिला पछि नै परेको देखिन्छ । कहिले हुन्छ महिला आफैं जागरुक? के आफ्नो हक अधिकार घुम्टो भित्रै पाइन्छ र? केही ठाउँमा मात्र नभई अधिकांश ठाउँमा घुम्टो प्रथा कायमै छ । रुढीबादी परम्परा, सोच हो कि? पुरुष मान्छेको दबाबले हो? यदि कसैको दबाबले होइन भने सप्तरीको अधिकांश गाउँमा महिलाहरू अहिले पनि घुम्टो भित्रै बस्ने गरेको पाइन्छ । महिला र पुरुष बराबर भनाइ मात्र हो ।
सरकारी, गैरसरकारी लगायतका विभिन्न संघसंस्थाहरुद्वारा बालबिवाह, दाइजो प्रथा, लैङगिक हिंसा, बोक्सीको आरोप बिरुद्ध वा अन्त्य सम्बन्धि चेतनामुलक तालिमको आयोजना गरिरहदा पनि घुम्टो प्रथा बिरुद्ध आवाज उठाउने बिरलै छ । घरभित्र कोचिएर बस्ने महिला अब बाहिर निस्केर महिला हिंसा बन्द गर, लैङगिक हिंसा बन्द गर, बालबिवाह बन्द गर, दहेज प्रथा बन्द गर, लिङ्गको आधारमा हिंसा गर्न पाइदैन जस्ता विभिन्न नाराबाजी गर्दै ११२औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८ मनाइ रहदा घुम्टो प्रथा बिरुद्धको आवाज उठाएको देखिदैन ।
घुम्टोमा बस्ने मुस्लिम, दलित, मधेसी, थारु महिलाहरुको सहभागीता रहदा बजारमा बस्ने गरेकोले ससुरा, जेठाजु हुदैन सोचेर घुम्टो न ओढेकी, कतिले कसैले हेरेर के सोच्छन भनेर घुम्टो ओढने गर्दछिन् । महिला आफ्नो स्वतन्त्रताले घुम्टो भित्र बस्ने गरेकी छिन त? यदि स्वतन्त्रताले होइन भने आफ्नो पहिचान, हक अधिकारको लागि घुम्टो प्रथा, रुढीबादी सोच, पौरानिक परम्परालाई हटाउनु पर्छ । अनि मात्र महिला पुरुष सरह बराबरीमा पुग्न सकिन्छ । परम्परालाई सम्मान गर्नुपर्छ । तर परम्पराकै कारण आफू को हुँ बिर्सिनु हुदैन । समाजको हरेक विद्यमान प्रथा र परम्परा आफैमा नराम्रो हुनन् । यस प्रथाको अनुकरण गर्ने शैली र व्यवहारले प्रथा नराम्रो हुन पुग्छ । त्यसैले परम्परालाई प्रथालाई खराब मान्नु हुदैन । र प्रथालाई बिगार्नु पनि हुदैन ।
आफ्नो अधिकार के हो ? जान्नु जरुरी छ । आफ्नो अधिकारको अवाज उठाउनु पर्छ । कसैले घुम्टो भित्र दिन आउदैन । एउटा भरखरै जन्मेको बच्चा जबसम्म रुदैन, तबसम्म जन्म दिएकी आमाले पनि दूध खुवाउदैन । हामीलाई अधिकार चाहिन्छ , पहिचान चाहिन्छ भनेर मात्र हुदैन । आफ्नो पहिचान, आफ्नो अधिकारको लागि लडनु पर्छ । बच्चा जन्मेदेखि नै आमासँग रोएर दूध खान माग्छ । दूध खान मात्र मागेको हो र? होइन , आमासँग हक सुनिश्चित गरेको बुझ्नुपर्छ ।
गाउँघरका कतिपय महिलाको भनाइ हुन्छ हामी मेक्सी, कुर्तासुरुवाल कहाँ लगाउनु? शहरमा बसेको भए मेक्सी, कुर्ता सुरुवाल लगाउने रहर शहरमै पूरा हुन्थ्यो भने गाउँघरमा लगाउने थिएन नि । राम्रो लगाउने, राम्रो खाने इच्छा कस्को हुदैन र? शहर जस्तो लुगा लगाउने स्वतन्त्रता गाउँमा पाउँदा शहरभन्दा गाउँमै बस्न रुचाउने छ होला । शहरी कामकाजी महिला सारी लगाउन धेरै समय लाग्ने र असजिलो महसुस गर्ने गर्दछिन भने गाउँले महिला झन्झट लागेपनि परम्परा मानेर लगाउन बाध्यता बोध गर्दछिन् ।
घुम्टो किन? के का लागि? टाउकोमा घाउ भएको जस्तो छोपि राख्नु । टाउको नछोप्दैमा, घुम्टो नओढदैमा, छोटो लुगा लगाउदैमा महिलालाई चरित्रहिन मानि हाल्नु पर्ने हो र? लुगा छोटो कि आँखा खोटो? फुलको आँखामा फुलै संसार बुझ्नुपर्छ । पहिले अबिवाहित महिला सारी लगाउने चलन थिएनन् तर अहिले स्वम्बर बिवाह गर्ने परिपाटी चलि आएकोले अबिवाहित महिला कुनै पार्टीहरुमा सारी लगाउने चलन बढेको देख्न पाइन्छ । एकछिनका लागि सारी लगाउन खुशी महसुस गर्छिन भने सारी लगाएर काम गर्न झन्झट मान्ने गरेको देखिन्छ ।
अधिकार माग्दै गर्दा अधिकारको लागि लड्दै गर्दा महिलालाई कहिले पनि आफ्नो दायित्वबाट बिमुख हुनु हुदैन । यस्तो भनिरहदा एउटी महिलाको लागि आफ्नो समाज र देशको लागि के दायित्व हो यो बुझ्नु जरुरी छ । त्यही अनुरुप यो कर्तव्य पूरा गर्नुपर्छ । जसले गर्दा सक्षम नागरिक बन्न पुग्छ । समाजिक प्रथालाई आदर र आत्मसम्मानको सुनिश्चितता गर्ने निश्चित समय सिमाको सबैलाई जानकारी हुन आवश्यक छ ।