काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह सम्पन्न गरेका हुन् । श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन् ।
केही समय अघि भेटघाट भएका केकी र रोहित पछिल्लो समय प्रेम सम्बन्धमा थिए । केकीले यो कुरालाई गोप्या राखेकी थिईन् । तथापि उनले विवाह गर्ने भन्ने चर्चा केही दिन यताबाट चल्दै आए पनि दुलाहासँग केकीको मेहेन्दी समारोहको फोटो बुधबार बेलुका सार्वजनिक भएको थियो । बिहिबार विवाह सम्पन्न भएपछि उनले विवाहका केही तस्बिरहरु सार्वजनिक गर्दै आफु र रोहितले नयाँ जीवनको थालनी गरेको बताएकी छिन् ।
विवाहको तीन वटा तस्बिर फेबसुकमा सार्वजनिक गर्दै बिहिबार बेलुका केकीले लेखेकी छिन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार–चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसककंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’ राजधानी दैनिकबाट