बारा-पर्सा कोरिडोरमा दैनिक १२ घण्टा लोडशेडिङ

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले यतिखेर ऊर्जाको चरम अभाव भोगिरहेका छन् । उक्त प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योग प्रतिष्ठानमा दैनिक १२ घण्टासम्म अघोषित लोडशेडिङ भइरहेको उद्यमीले बताए ।

प्राधिकरणले नेपाललाई लोडशेडिङमुक्त घोषणा गरे पनि पछिल्लो समय देखिएको ऊर्जा संकटबाट यहाँका उद्योग बढी प्रभावित भएका छन् । बढी ऊर्जा खपत गर्ने र नियमित आपूर्ति चाहिने उद्योगको उत्पादन २५/३० प्रतिशतमा झरेको छ ।

‘दिनहुँ १०/१२ घण्टासम्म बिजुली काटिन्छ । यस्तोमा कसरी उत्पादन सम्भव हुन्छ रु’ एक उद्योगीले आर्थिक अभियानसित गुनासो पोखे । प्राधिकरणको ३३ र ११ केभी लाइनबाट विद्युत् लिएका उद्योगमा आपूर्ति तुलनात्मक कम अवरुद्ध भइरहेको छ । ६६ केभीबाट लिएका उद्योगी बढी मारमा परेको बताइन्छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले ६६ केभी लाइनमा जोडिएका उद्योगमा दिनको १२ घण्टासम्म लोडशेडिङ र ५/६ पटक ‘ट्रिपिङ’ भइरहेको बताए । अन्य प्रसारण लाइनबाट पनि आपूर्तिमा समस्या भइरहेको भनाइ गुप्ताको छ ।

‘पछिल्ला केही वर्ष विद्युत्को सहज आपूर्तिका कारण उद्योग प्रतिष्ठानले क्षमता बढाएर उत्पादन थालेकोमा अहिलेको ऊर्जा अभावले समस्यामा परेका छन् । ऊर्जा समस्यामा झेलिरहेका यो कोरिडोरका उद्योगहरू अहिले क्षमताको २५/३० प्रतिशतमा सञ्चालन भइरहेका छन्,’ गुप्ताले भने ।

प्राधिकरणको ग्रीड सञ्चालन विभागका प्रमुख सुरेश भट्टराई भने अहिले देखिएको ऊर्जा अभाव अल्पकालीन भएको दाबी गर्छन् । रूस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा देखिएको ऊर्जा संकटबाट नेपाल पनि प्रभावित भएको भट्टराईले बताए । ‘यो १२/१५ दिनदेखिको समस्या हो । चाँडै समाधान हुन्छ । तर, हामीकहाँ प्रसारण लाइनको समस्या पेचिलो बन्दै गएको छ,’ उनले भने । आर्थिक अभियानबाट

Author:



क्याटोगरी छान्‍नुहोस