लोकनायक कृष्णाराम मरौटी स्थल ओझेल

राजविराज, १४ असार । आन्तरिक तथा बाह्यपर्यटक भित्रियाउने प्रचुर सम्भावना बोकेको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित लोक संस्कृतिसँग जोडिएको लोकनायक कृष्णाराम मरौटी स्थलओझेलमा परेको छ ।

बाटोको उचित व्यवस्थापन र प्रचार प्रसार हुन नसक्दा चूरे जंगलमा अवस्थित सप्तरी र उदयपुर जिल्लाको सिमानामा पर्ने सो स्थल ओझेलमा परेको हो । जिल्लाको महुली बजारदेखि करिब १४ किलोमिटर उत्तरतर्फकोचूरे जंगलमा अवस्थित, लोक संस्कृतिसँग जोडिएको लोकनायक कृष्णाराम मरौटीस्थल ।

भनिन्छ, लोक देवताको रूपमा पुजित कृष्णाराम र शोभरण दुई दाजुभाइ थिए । कृष्णारामले त्यसक्षेत्रमा आफ्ना गाईभैंसीका बथान राख्ने गरेको किंवदन्ती रहेको छ ।कृष्णाराम त्यहाँ गाई चराउने गर्दथे र फुर्सदमा कुश्ती खेल्ने गरेको लोकगाथामा उल्लेख रहेको छ ।

नव विवाहिता पत्नीलाई समेत बिर्सेर उनी गाईवस्तुसितै बढी समय बिताउने गरेका कारण उनकी पत्नी बुधना दुःखी रहन्थिन् । त्यसैले आमा कजलाले माइलो छोरा शोभरणलाई केही दिनका लागि दाजुलाई घर ल्याउनपठाएकी थिइन । भाइ लिन आएपश्चात कृष्णाराम घर फर्किने क्रममा दुवै दाजुभाइ लोकनायक सलहेशका भाञ्जा कारिकान्तद्वारा नेबुवा बागमा मारिएपछि सो क्षेत्र पशुपालकका लागि पुजनीय स्थल बन्न पुगेको हो ।

दाजुभाइ मारिएको स्थलमा अझैं रूखमुनि सयौंको संख्यामा काला पत्थरका टुक्राहरू थुपारिएका छन् भने उक्त टुक्राहरू दुवै दाजुभाइको शरीरको अङ्ग भएको जनविश्वास रहेको छ ।कृष्णारामको मृत्यु भएको कारणले सो स्थललाई मरौटी भनेर चिनिन्छ ।

त्यस स्थानमा जनार दिने प्रचलन छ भने घरमा पालेको गाई–भैंसी ब्याउँदा पहिले कृष्णारामलाई खीर, दही, लड्डु र पान सुपारी अगरवतीसहितका प्रसादको रूपमा चढाउने परम्परास्थानीय विज्ञान विष्टले बताए । ‘मरौटीस्थलमा अनेकौं भाकलहरु पनि गरिन्छ’ उनले भने–‘भाकल पूरा भएपछि यहाँ खीर, दही, लड्डु र पान सुपारी अगरवतीसहितका प्रसादको रूपमा चढाउने परम्परा रहिआएको छ ।’

किसानहरूको पेशासित जोडिएको पशुपालन र पशुपालनसित जोडिएको कृष्णारामको गाथालाई स्मरण गराउने मरौटी क्षेत्रलाई सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकास गर्न बाटो–घाटो र सुरक्षाको उचित व्यवस्थाकासाथै प्रचार प्रसार गर्न सके जिल्लाकै आर्थिक अवस्था सुदृढ हुने सम्भावना छ । ‘लोकनायक कृष्णाराम मरौटीस्थलको आफ्नै ऐतिहासिक विशेषता छ, यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय स्थल बनाउन सकिए जिल्लाको मात्रै नभएर प्रदेशकै आर्थिक अवस्था सुदृढ हुने सम्भावना छ’ उनले भने–‘यस क्षेत्रको विकासका साथै बाटोघाटो र सुरक्षाको उचित व्यवस्था हुनुपर्ने आवश्यक छ ।’

यस मनोरम स्थलसम्म पुग्न खोला तथा गुफा भएर जानुपर्ने हुन्छ । ठाउँ–ठाउँमा झरनाको मनोरम दृश्य, जङ्गलको चराचुरूङ्गीको आवाजका साथै अन्य आकर्षक दृश्यहरूले पर्यटक तथा दर्शनार्थीहरूको मन लोभ्याउने गर्दछ ।

यस स्थलमा नेपाल लगायत भारतको मधुवनी, सहर्षा, अररिया, झंझारपुर, दरभंगा क्षेत्रबाटसमेत दर्शनार्थीहरू आउने गरेपनि बाटो–घाटो, खानेपानी, व्यवस्थित धर्मशाला र सुरक्षाको अभावले यो महत्वपूर्ण स्थल ओझेलमा पर्न गएकोले सम्बन्धित निकायको ध्यान जानु आवश्यक रहेको स्थानीयहरुको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस