नेपालमा अधिकांश जनताहरु गरिबी रेखामुनि छन् । यसरी गरिबी कायम रहनमा धेरै कारणहरु देखिन्छन् । पेट्रोल, डिजल, खाद्यान्न, दाल, सागपात, फलफूल, मरमसलाको मूल्य अत्यधिक बढेपछि स्वभाविक रुपमा खर्च बढ्ने नै हुन्छ । तर, सर्वसाधारण जनताको आम्दानीको स्रोत भने बढेको देखिदैन ।
अनपेक्षित मात्रामा महँगी बढाउनमा प्रत्यक्ष भूमिका भने बजार र सरकार दुवैको देखिएको छ । बजारले आफ्नो धर्म पालना नगर्दा र सरकार महँगी वृद्धिप्रति संवेदनशील नहुँदा धान्नै नसक्ने महँगीको मारमा पर्छन् जनता । पेट्रोलियम पदार्थको मूल्य वृद्वि भयो । सार्वजनिक सवारीको भाडादर रेट मापन भएन । जस्तै राजविराजदेखि बिरगंजसम्म जति भाडा लिने गर्दछन, त्यति नै निजगढखेखि रुपनीसम्मको पनि ।
चालू आर्थिक वर्षको शुरुवातदेखि नै मूल्यवृद्धि उच्च छ । रसिया र युक्रेनको युद्धका कारण र डलरको भाउ बढ्दा इन्धनको मूल्य बढेको सरकारको भनाइ रहेको छ । जताबाट पनि जनता मारमा । गरिबीका कुचक्रमा फसेका व्यक्तिहरुको जीवनस्तर उकास्न धेरै प्रयत्नहरु भएको देखिन्छ । तर, गरिबी न्युनिकरण हुने क्रममा तिब्रता आउन सकेको छैन् । यस्तो सुस्त गतिमा न्युनिकरण हुने हो भने दशकौं लाग्ने देखिन्छ ।
नेपालका ग्रामिण क्षेत्रका मानिसहरू कृषिमा आश्रित छन् । नेपाली जनताका रोजगारी र जीवीकोपार्जनको मुख्य आधार नै कृषि हो । तर, कृषि आफैंमा परम्परागत शैलीमा आधारित र पिछडिएको अवस्थामा छ भन्ने त्यसले गरिब जनताको अवस्था सुधार्ने कल्पना गर्न सकिदैन ।
सरकारले उत्पादन बढाउन सकेन भने नागरिकको गुणस्तरीय जीवनयापनमा सम्झौता गर्नुपर्ने हुन्छ । गुणस्तरीय जीवनका लागि शिक्षा, स्वास्थ्य लगायत अन्य आवश्यकता पूरा गर्न कठिनाइ हुन्छ । सिचाइ सुबिधाको पनि अभाव नै रहेको पाइन्छ । यीनै कारणले गर्दा प्रायः गरिबी अर्थात ग्रामीण भेगका जनताको जीवन खेतिबारीमा नै बित्छ । यस्तो रबैयामा कहिल्यै जिवनस्तर उकासिने अवस्था आउने देखिदैन ।
नेपालमा उपलब्ध प्रकृतिक स्रोत र साधनहरु प्रशस्त छन । तर तिनको उपयोग गर्न सकिएको छैन । प्राविधिक ज्ञान, सीप, चेतना र पुँजीको अभावका कारण तिनको उपयोग हुन सकेको छैन । त्यसैले गर्दा हामीले एकातर्फ विदेशी मुद्रा आर्जन गर्न सकेका छैनौं भने अर्को तर्फ आयात वृद्वि गरेर आफुसँग भएको सम्पत्ति पनि विदेशतर्फ पठाउँदै छौं । जसले गर्दा नेपालीहरु गरिब हुँदै छन् । यस्ता कुरामा हामी नेपालीहरु सचेत हुन जरुरी देखिन्छ ।