तस्करीका नयाँ शैलीः कोसीमा तैरिरहेको २ सय ४० किलो गाँजा बरामद

राजविराज, ५ भदौ । कोसी नदी हुँदै नयाँ नयाँ शैली प्रयोग गरेर भारततर्फ गाँजा तस्करी हुँदै आएको पाइएको छ ।

सशस्त्र प्रहरीले आइतवार विहान नदीमा तैरिरहेको अवस्थामा ९ वटा पोकामा रहेको २ सय ४० किलो गाँजा नियन्त्रणमा लिएपछि सो कुरा बाहिरिएको हो । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी नदीस्थित पटेरको घारीबाट सो गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

विशेष सूचनाको आधारमा सुरक्षा वेस भारदहबाट खटिएको मोबाइल गस्ती टोलीले प्लास्टिकको बोरामा हालेर ट्युबमा बाँधिएको अवस्थामा सो गाँजा नियन्त्रणमा लिइएको हो ।

पछिल्लो समय कोसी ब्यारेज र आसपासका क्षेत्रमा प्रहरीले निगरानी बढाएसँगै तस्करहरुले नयाँ नयाँ शैली प्रयोग गरेर तस्करीलाई निरन्तरता दिँदै आएको छन् । प्रहरीले तस्करको त्यस्ता शैलीमाथि पनि निगरानी गरिरहेको र सोही क्रममा गाँजा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि एक वर्ष यता मात्रै सशस्त्र प्रहरीले करिब ६ सय किलो गाँजा बरामद गरिसकेको प्रहरी उपरीक्षक खड्काले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस