पूराना सबै राजनीतिक दल म्याद सकिएको औषधी : अध्यक्ष राउत

राजविराज । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो दलबाहेक सबै राजनीतिक दलहरु ‘म्याद सकिएको औषधी’ सरह रहेको टिप्पणी गरेका छन् ।

सप्तरीमा विहिवार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विगतमा विभिन्न राजनितिक दलले मुलुकमा पालै–पालो शासन गरेपनि जनताको अवस्था भने अझैं विकराल बन्दै गएको छ’ उनले भने ‘ती सबै राजनीतिक दलहरु म्याद सकिएको औषधी सरह नै भइसकेका छन्, मुलुकले गति लिन नसक्ने कारण पनि यहीँ नै हो ।’

उनले मुलुकलाई निकास दिने आफुहरुको पार्टी एक मात्र विकल्प रहेको दावी गरे । ‘अन्य दलहरुलाई छाडेर आफुहरुलाई आगामी निर्वाचनमा साथ दिन आग्रह छ’, अध्यक्ष राउत भने ।

निवर्तमान गाउँपालिका अध्यक्ष सिंह जनमतमा प्रवेश

सोही कार्यक्रममा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष सतिश कुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरे । उनीसँगै सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेकाहरुलाई अध्यक्ष राउतले फुल माला र अविर लगाई स्वागत गरे । लामो समयदेखि राजनीतिकमा सक्रिय निवर्तमान गाउँपालिका अध्यक्ष सिंहलाई नै आगामी निर्वाचनमा जनमत पार्टीले सप्तरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने लगभग निश्चित भएको जनमत पार्टी श्रोतले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस