सत्ता गठबन्धनको चक्रव्यूहबाट निस्किन सफल भयौं : उपेन्द्र

राजबिराज । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशीको पार्टी भनेर समाप्त पार्न खोजिएकोले सत्ता गठबन्धनबाट बाहिरिएको खुलासा गरेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार आयोजित अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यकर्ताहरुको जिज्ञासालाई सम्बोधन गर्दै उनले भने ‘मङ्सीर ४ गते हुन लागेको प्रतिनिधि सभामा ९ र प्रदेश सभा सदस्यमा २१ वटा सिट मात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीति सहित पार्टीलाई समाप्त पार्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चक्रव्यूहबाट निस्किन सफल भयौं, जसको फलस्वरुप अहिले प्रतिनिधिसभा सदस्य पदमा ८१ स्थानमा र १ सय ४५ प्रदेशसभा सदस्य पदमा गरी हुम्ला, जुम्ला, काठमाण्डौं लगायत कुल ६५ जिल्लामा जसपा पार्टीले नेकपा एमालेसँग तालमेल गरी चुनाव लडदैछन् ।’

संसद विघटन पछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारको लागि जसपा नेपाल लगायतले ५ दलीय गठबन्धन गरि स्थानीय तहको निर्वाचनमा सहभागी भएको तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जसपालाई धोका दिएको उनले अध्यक्ष यादवले बताए । स्थानीय तहको चुनावमा जनकपुर, विराटनगर र विरगञ्ज लगायतको स्थानहरुमा धोका पाएको समेत खुलासा गरे ।

जसपाले नेकपा एमालेसँग गठबन्धन नगरेको प्रष्ट्याउँदै चुनावी तालमेल मात्र गरेको अध्यक्ष यादवले जानकारी गराए । मधेशलाई सम्मृद्ध बनाउन र मधेशी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिम लगायतकाहरुको हक अधिकार लगायतका सपना सकार पार्न जसपा नेपाल प्रतिवद्ध रहेको उनले प्रतिवद्धता व्यक्त गरे । देशको मार्गदर्शन गर्ने जिल्लाको रुपमा चिनिएको जिल्ला सप्तरीबाटै पुनः चुनाव जितेर मधेश र देशलाई सम्मृद्ध बनाउने उनले विश्वास व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस