उपराष्ट्रपति, तीन मन्त्री र मधेसको मुख्यमन्त्रीमा जसपाको दाबी

जनकपुरधाम । नयाँ गठबन्धनको सरकार गठनमा समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले शक्ति बाँडफाँडमा उपराष्ट्रपति, संघमा तीन मन्त्रालय र मधेसमा मुख्यमन्त्री माग गरेको छ । पार्टी सरकारमा जान सकारात्मक रहे पनि जसपाले औपचारिक निर्णय भने लिएको छैन । जसपाले यसबारे निर्णय लिन १६ पुसमा केन्द्रीय कार्यकारिणी र १८ तथा १९ पुसमा राजनीतिक समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग शक्ति बाँडफाँडको विषयमा निरन्तर संवादमा रहेका उपेन्द्र यादवले जसपालाई उपराष्ट्रपतिसहित केन्द्रमा तीन मन्त्रालय, मधेसमा मुख्यमन्त्रीको दाबी गरेका हुन् । ‘अध्यक्षज्यू प्रधानमन्त्री र ओलीसँग संवादमै हुनुहुन्छ,’ जसपाका एक नेताले भने, ‘पार्टीले सम्मानजनक शक्ति बाँडफाँड खोजेको छ ।’

यादव स्वयं उपनिर्वाचनमार्फत सांसद निर्वाचित भएर संसद्मा आउने चाहनामा छन् । ‘त्यही परिस्थिति निर्माणका लागि ओलीलाई भेटेर उपराष्ट्रपतिको माग गरेका छन्,’ जसपाकै एक नेताले दाबी गरे । कोही प्रत्यक्ष सांसदलाई उपराष्ट्रपतिमा पठाउन सके उपनिर्वाचनमार्फत आफ्नो संसद् प्रवेशको बाटो खुला हुने यादवको बुझाइ छ । यादव ४ मंसिरको निर्वाचनमा सप्तरी २ मा सिके राउतसँग पराजय भोगेका थिए ।

सरकारमा जाने विषयमा पार्टी सकारात्मक रहेको प्रवक्ता मनीष सुमनले बताए । ‘हामी सरकारमा जान्छौँ, कसलाई पठाउने, के–कस्तो भूमिका लिने विषयमा गठबन्धनसँग छलफल गरेर तय हुनेछ,’ उनले भने ।

राई पछाडि हटेपछि संसदीय दलको नेतामा रामसहाय निर्विरोध
निर्वाचनमा अध्यक्ष यादवको पराजयपछि धेरैको अनुमान थियो, अब जनता समाजवादी पार्टीमा सबैभन्दा वरिष्ठ नेताका हैसियतले अशोक राई संसदीय दलको नेता चुनिनेछन् । तर, बुधबार भएको निर्वाचनमा उनले उम्मेदवारीसम्म दिएनन् ।

१२ सांसदमध्ये कसैले उम्मेदवारी नदिएपछि उपेन्द्रका विश्वासपात्रका रूपमा चिनिएका रामसहायप्रसाद यादव दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा जाँदा जित्ने अवस्था नदेखिएपछि पार्टीका संघीय परिषद् अध्यक्ष रहेका राई नेताको दाबीबाट पछाडि हटेका हुन् ।

जसपाका एक नेताका अनुसार यसमा मूलतः दुई कारणले काम गरेको छ । ‘पहिलो– अध्यक्ष यादवले राईलाई सहयोग गरेनन्, पार्टीभित्र आफ्नो भूमिका खुम्चिने डरले आफ्नो विश्वासपात्रलाई अघि बढाए,’ राईनिकट जसपाका एक नेताले भने, ‘दोस्रो, चुनाव उठ्ने अवस्थामा राईले जित्ने अवस्था देखिएन । कम सांसदबीच चुनाव लडेर हार्दा राम्रो सन्देश नजाने भएपछि उहाँले उम्मेदवारी नै दिनुभएन ।’ जसपाभित्र यादव–राईको द्वन्द्व निर्वाचनलगत्तै झल्किएको थियो ।

अध्यक्ष यादवले रामसहायलाई दलको नेता बनाएसँगै राई र राजकिशोर यादवलाई मन्त्री बनाउने वचन दिएको बताइएको छ । सरकारमा कसलाई पठाउने विषयमा पार्टीभित्र औपचारिक छलफल र निर्णय नभएको सांसद राजकिशोर यादवले बताउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस