मधेस प्रदेश सरकारमा लोसपा सहभागी हुने, कांग्रेस पनि बार्गेनिङमा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) पनि मधेस प्रदेश सरकार सरकारका सहभागी हुने भएको छ । जनता समाजवादी पार्टी नेतृत्वको मधेस प्रदेश सरकारलाई बुधबार नै समर्थन दिएर लोसपाले प्रदेश सरकारमा आफ्नो स्थान पक्का गरेको थियो । यो सँगै मधेश प्रदेश सरकारमा नेकपा एमाले, जसपा, जनमत, माओवादी केन्द्र,लोसपा, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी गरी ७ दलको सहभागिता हुने निश्चित भएको छ ।

जसपा नेतृत्वको सरकारलाई संघमा जस्तै प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको कांग्रेसका एक सांसदले बताए ।

‘जसपा नेतृत्वको सरकारलाई समर्थन दिने विषयमा छलफल गर्न बिहीबार नै कांग्रेस मधेस प्रदेश संसदीय दलको बैठक बसेको थियो । तर निर्णय हुन सकेन ।’, कांग्रेसका एक सांसदले भने, ‘जसपा नेतृत्वको सरकारलाई समर्थन दिने वा नदिने विषयमा शुक्रबार बिहान पनि छलफल हुन्छ ।’

बुधबार नै जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

लोसपा मधेस प्रदेशका संसदीय दलका नेता अभिराम शर्माले प्रदेश सरकारमा सहभागी हुने गरी सरकारलाई समर्थन दिएको बताए । दलको नेता छनोटमा ढिलाइ भएकोले समर्थन दिन ढिलो भएको भन्दै नेता शर्माले भने, ‘सरकारलाई समर्थन दिएका छौँ र सरकारमा पनि सहभागी हुन्छौँ ।’ शर्मा बुधवार नै दलको नेतामा सर्वसम्मत चुनिएका थिए । कति र कुन मन्त्रालय लोसपाको भागमा परेको छ भन्ने जिज्ञसामा उनले भने, ‘यो विषयमा अहिले दलहरूबीच छलफल भइरहेको छ । अहिलेसम्म मन्त्रालयको विषयमा टुंगो लागेको छैन ।’

नवनियुक्त मुख्यमन्त्री यादवले शुक्रबार बिहान ११ वजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख मिश्रले यादवालाई शपथ गराउने छन् । मुख्यमन्त्री यादवसँगै अन्य केही मन्त्रीले शपथ लिने सम्भावना रहेको छ । जसपाका एक नेताका अनुसार दलहरूबीच मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि तत्कालका लागि सरकारलाई समर्थन दिएका मुल पार्टीहरू एमाले, माओवादी केन्द्र, जनमत, लोसपाबाट एक/एक जना बिना विभागीय मन्त्रीले शपथ लिने कार्यक्रम रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस