रवि लामिछानेको नगरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाइ आज हुँदै

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा शुक्रबार सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा हिजाे बिहीबारदेखि सुरु भएकाे अन्तिम सुनुवाइ आजपनि हुने भएकाे हाे। हिजाे बहस नसकिएकाले उनकाे मुद्दा ‘हेर्दाहेर्दै’मा परेको थियो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सकिने अपेक्षा छ।

यसअघि बुधबार भने रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता रमण कर्ण र सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरु अमृत खरेल, निकिता ढंगानाले बहस गरेका थिए। यस्तै, रविका पक्षबाट सरकारी वकिल (सहन्यायाधीवक्ता) सञ्जिवराज रेग्मीले बहस गरेका थिए।

रिट निवेदक पक्षका तर्फबाट बहस गरेका कानुन व्यवसायीले लामिछानेले अमेरिकी नागरिकता तथा राहदानी त्यागेको स्वघोषणा गरे पनि पुन: नेपाली नागरिकता प्राप्तीका लागि प्रकिया पूरा नगरेको जिकिर गरेका थिए। निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नरहेको दाबी गर्दै उनको सांसद पद खारेज हुनुपर्ने दलिल पेस गरेका थिए।

नेपाल नागरिकता ऐनको दफा १० को (१) तथा (२) अनुसारको आफ्नो अवस्था भए पनि लामिछानेले ऐनको दफा (११) अनुसार पुन: नेपाली नागरिकता कायम हुनका लागि प्रक्रिया पूरा नगरेको उनीहरुको जिकिर थियो।

लामिछानेको पक्षबाट बहसमा उत्रिएका सरकारी वकिल र कानुन व्यवसायीले हकदैयालाई मुख्य विषय बनाइ उनीविरुद्धको रिट खारेज हुनुपर्ने जिकिर गरेका थिए। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा बुधबार लामिछानेको पक्षबाट ३ जनाले बहस गरेका थिए।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

युवराज सफलले लामिछानेको नागरिकता सम्बन्धमा छानबिनको माग गर्दै गृहमा उजुरी दिएका थिए। चितवन-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि रविको नागरिकता अवैध रहेको दाबीसहित निर्वाचन कार्यालयमा उजुरी परेको थियो। उनले अमेरिकी नागरिक भएपछि खारेज भएको २०५० मा निकालेको नागरिकता नै प्रयोग गरिरहेको खुलासा भएको थियो।

निर्वाचन परिणाम आएपछि उम्मेदवारबारे परेको उजुरीबारे छानविन र निर्णय गर्ने अधिकार नभएको भन्दै आयोगका पदाधिकारी विवादबाट पन्छिदै रविलाई चितवन-२ मा निर्वाचित प्रमाण पत्र दिइएको थियो।

उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट लुकाएर सन् २०१५ मै नेपाली पासपोर्ट लिएको तथ्य सार्वजनिक भएको थियो। उनले हालसम्म सोही पासपोर्टको प्रयोग गरिरहेका छन्। उनले खारेज भएको नागरिकता नब्यूँताइ मतदाता सूचीमा नाम दर्ता गरेकोसमेत तथ्यहरू बाहिर आएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस