कर्मचारी सहिद प्रभुनारायणको शालिक अनावरण

राजविराज, १६ माघ । सहिद दिवसको अवसर परेर सोमवार सप्तरीको तिलाठी कोइलाडी–८ स्थित तोपा बजारमा कर्मचारी सहिद प्रभुनारायण यादवको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादवले शालिकको अनावरण गरेका हुन् ।

प्रमुख अतिथी यादवले स्वर्गीय प्रभुनारायण एक कर्तव्यनिष्ट तथा इमान्दार कर्मचारी रहेको भन्दै उनको कार्यशैली अरुका लागि पनि अनुसरणयोग्य रहेको बताए ।

प्रस्तावित कर्मचारी सहिद प्रभुनारायण यादव स्मृति प्रतिष्ठानका अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेशसभा सदस्यहरु मो.सकिल अली र सतिशकुमार सिंह, पूर्व सदस्य गीता यादव, जिल्ला समन्वय समिति सप्तरीका संयोजक शिवनारायण साह, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा लगायतले पनि स्वर्गीय यादवको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा ।

तत्कालिन जिल्ला विकास समितिका नायब सुब्बा पदमा कार्यरत प्रभुनारायण यादवको २०६४ साल कार्तिक १२ गते साँझ तोपा नजिकै अज्ञात समूहले गोली हानि हत्या गरेका थिए । सरकारले सोही महिनाको कार्तिक २७ गते उनलाई कर्मचारी सहिद घोषणा गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस