मुलुकमा अर्को भयानक जनबिद्रोह हुनसक्ने उपेन्द्रको चेतावनी

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको त्याग, तपस्या, संघर्ष र बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपेक्षा र उपहास भइरहे मुलुकमा अर्को भयानक जनबिद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।

उनले आज सामाजिक सञ्जाल मार्फत यस्तो चेतावनी दिएका हुन् । उनले मुलुकको आधा भन्दा बढी जनसंख्या ओगटने मधेशी, थारु, मुस्लिम, दलित, जनजाति आदिलाई समावेशीकरण नगरी वञ्चित राख्दा राष्ट्रिय एकता जोगाउन कसरी सम्भव होला? भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा यस प्रकारको कुरा उठाएका छन्ः

नेपालको शासन प्रणाली र संबैधानिक ब्यवस्था बमोजिम मन्त्रिपरिषदले शासन ब्यवस्थाको निर्देशन , नियन्त्रण र सन्चालन गर्दछ । संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्त आयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्दछ । राष्ट्रिय सुरक्षा परिषदले नेपालको समग्र राष्ट्रहीत, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा र नेपाली सेना परिचालनको सिफारिस गर्दछ। मुलुकको आधा भन्दा बढी जनसंख्या ओगटेने मधेशी, थारु, मुस्लिम, दलित, जनजाति आदिलाई उक्त संस्थाहरुमा समावेशीकरण नगरी बन्चित, उपेक्षित एवम् प्रतिनिधित्व बिहीन बनाएर राष्ट्रिय एकता जोगाउन कसरी सम्भव होला ? यी निकायहरूमा समाबेशीकरण कहिल्यै किन गरिदैन ? केही शासक वर्ग÷जातिको जातीय अहंकार र नस्लवादी चिन्तन, व्यबहार र चरित्र यो हैन र ? नेपाली जनताको त्याग, तपस्या , संघर्ष र बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपेक्षा र उपहास भएन र ? यस्तै अवस्था रहिरहने हो भने परिणाम के होला ? यस सम्बन्धमा कस्ले ? कहिले सोच्ने ? उपरोक्त सन्दर्भमा २१औ शताब्दिका नेपाली जनता सूचित, चेतनशील एवम् जागृत र संगठित हुदैछन् । नेपालको यही अवस्था र शासक जाति÷वर्गको यस्तै चिन्तन र चरित्र रहिरहन्छ भने मुलुकमा अर्को भयानक जनबिद्रोह हुनसक्छ, त्यतिबेला कसैले सम्हालेर नसम्हलिन पनि सक्छ, सबैलाई चेतना भया । पशुपतिनाथले शासक वर्गलाई सद्बुद्धि प्रदान गरुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस