संयुक्त दलित मोर्चाको प्रदर्शन–अध्यक्षलाई तत्काल निलम्वन गर्नुपर्ने माग

लहान – संयुक्त दलित मोर्चा सिरहाले जातीय भेदभाव गर्ने भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवविरुद्ध गोलबजारमा प्रदर्शन गरेका छन् ।

अध्यक्षलाई तत्काल निलम्वन गर्न र पक्राउ गरी कानूनी दायरामा ल्याउन उनीहरुले सरकार र स्थानीय प्रशासनसँग माग गर्दै प्रशर्दन गरेका हुन् । ‘जातीय छुवाछुत गरी भोज गर्ने गाउँपालिका अध्यक्षलाई कानूनी कारबाही गर’ लेखिएको कालो ब्यानर र हात हातमा प्लेकार्ड बोकेर सडकमा उत्रिएका उनीहरुले गोलबजारको मुख्य भागमा परिक्रमा गरेका थिए ।

विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले छुवाछुतलाई संस्थागत गर्ने गरी भोज खाने सांसद, पूर्व एवम् बहालबाला मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई पनि कानूनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

प्रदर्शनपछि गोलबजारको मुख्य चोकमा कोणसभा गर्दै दलित अगुवाहरु एवम् दलित अधिकारकर्मीहरुले छुवाछुतको आपराधिक घटना सामाजिक मेलमिलापको नाममा मिलापत्र नगराउन माग राखे । दलित अगुवा राजु विश्वकर्मा, दलित अधिकारकर्मी शिव कुमार महरा, दलित अगुवाहरु कृष्णमाया विक, सुरज महरा, महेन्द्र सदा, विन्दु साह लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नी दिवंगत आमाको १३ औँ दिनको पुण्यतिथिमा सोमबार गरेको भोजमा जात र समुदाय अनुसार फरक–फरक ठाउँमा बसेर खाने प्रबन्ध गरी जातिय विभेद गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस