मेयरमा सातौं स्थान पाएकी ममता झा उपराष्ट्रपतिमा उम्मेदवार

जनकपुरधाम — सप्तरीको राजविराज नगरपालिकामा मेयरकी प्रत्याशी रहेकी ममता झालाई जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ । पछिल्लो पटक भएको स्थानीय तह निर्वाचनमा झा सोही पार्टीबाट मेयर पदमा चुनाव लडेकी थिइन ।

शनिबार बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन् । जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएकी झालाई नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक पार्टीको समर्थन छ । उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन् । त्यस्तै गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी समर्थक रहेका छन् ।

जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज रहेकी उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी झा राजविराज नगरपालिकाको मेयर पदमा सातौं स्थानमा रहेर ९२२ मत ल्याएकी थिइन् ।

साझा प्रकाशनको अध्यक्ष हुँदा पदको दुरुपयोग गरेको आरोप

ममता झा ९ वर्षअघि साझा प्रकाशनको अध्यक्ष एवं महाप्रबन्धक हुँदा पदको दुरुपयोग गरेको आरोप लागेको थियो । साझाका अस्थायी सहायकस्तर द्वितीय तहमा कार्यरत कर्मचारी माधवप्रसाद थपलियालाई न्यूनत्तम शैक्षिक योग्यताबिना अस्थायी सहायकस्तर प्रथम श्रेणीमा नियुक्ति दिएर पनि उनी विवादमा परेकी थिइन् ।

आफूविरुद्धका उजुरीका कारण पटक–पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर सफाइ दिएको कुरा राजीनामा दिने क्रममा उनी स्वयंले बताएकी थिइन् । २०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए ।

एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो । साझाको भवन बनाउन रकम नपुगे पनि उनले आफ्ना लागि ८० लाखको गाडी किनेकी थिइन् ।

अख्तियारले छापा मारेर भवन निर्माणसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएपछि उनले राजीनामा दिएकी थिइन् । झाले साझा प्रकाशन डुबाएको भनेर विभिन्न साहित्यकारहरूले समेत आन्दोलन गरेका थिए ।

साझा प्रकाशनमा भएको आर्थिक घोटालाको छानबिन गरी अख्तियारले तत्कालीन निलम्बित महाप्रबन्धक झाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त विषयमा मुद्दा चलेर किनारा लागे, नलागेको खुलेको छैन । मुद्दामा झा दोषी भएको पाइएमा उनको उम्मेदावारी रद्द हुन सक्छ । यद्यपी, साझामा भ्रष्टाचार गरेको विषयमा झाले कुनै प्रतिक्रिया दिइनन् । तर, अहिले त्यसबारे कुनै पनि मुद्धा नरहेको उनको भनाइ छ ।

तपाईंलाई साझाको अध्यक्ष हुँदा भ्रष्टाचारको आरोप छ थियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा झाले भनिन्, ‘त्यस्तो केही छैन, कुनै मुद्दा पनि छैन ।’

Author:



क्याटोगरी छान्‍नुहोस