जातीय मुटभेडको भूमरीमा मधेश !

राजपूत, ब्राह्मण, तेली, बनिया, मण्डल, साफी, सदाय, राम आदि सबै मधेशी हुन्, अनि नेपाली पनि । तर, ‘यादव’ मधेशी होइनन्, नेपाली पनि होइनन् !

हो, आज कल सायद स्थानीय राजनीतिक वृतमा यहि कुतर्क चल्दै छ । हिजोसम्म ‘यादवहरु’ मधेशी, मर्सिया, धोती, इण्डियन के त के तर आज ‘यादवहरु’ न मधेशी नै रहे, न पूर्ण रूपमा नेपाली नै ।

राणाहरूको विरुद्ध प्रजातान्त्रिक आन्दोलन होस् वा राज संस्था विरुद्ध जन आन्दोलन वा पहिचानका लागि मधेश आन्दोलन नै । देशमा भएको सबै क्रान्तिकारी आन्दोलनमा ‘यादव समुदाय’ले कहिले ‘नेपाली’ भएर त कहिले मधेशी भएर प्राणको आहुती दिए । ति सबै बलिदान, त्याग र तपस्या आज तुच्छ भयो ।

आ.अन्जु यादव

आज काल ‘यादव’ समुदाय प्रति अनौठो दृष्टिकोण छ । ‘खस आर्य’ हरु ‘यादव’लाई कम से कम मधेशी त देख्छन् तर कथित मधेशीहरु ‘यादव’ लाई न त नेपाली नै देख्छन, न त मधेशी नै ! मानौं मधेशमा अहिले ‘यादवहरु’ परग्रही (बष्भिल) भएका छन्, अर्कै ग्रहबाट आएका छन् जस्तो छ । गज्जबको तर्क प्रवाहित हुँदै छ आजकाल स्थानीय राजनीतिक वृतमा ।

नविन विचार र वैकल्पिक राजनीतिको नाममा केही मधेश केन्द्रित दलहरु आफ्नो राजनैतिक विचारलाई आफ्नो विदेशी निर्देशकहरुको खुट्टामा समर्पण गरेर केवल एक नेता र एक जाति विशेषको विरोधमा केन्द्रित र लक्षित छन् । एक जात विशेषको विरोधमा अनयास जातीय विद्वेश फैलाइदै छ । मधेश र मधेशी समाजलाई जवरण जातीय मुटभेडतर्फ उन्मुख गराईदै छ । विडम्बना त के छ भने मधेशका बौद्धिक वर्ग पनि सम्मोहित र भ्रमित भइसकेका छन् । मधेशका बौद्धिक वर्ग जातीय मुटभेडको दिशातर्फ भेड चालमा समाहित र निर्देशित भइसकेका छन् ।

मधेश र मधेशीलाई जातीय झुण्डमा विभाजित गराएर मधेश र मधेशीलाई जातीय मुटभेडको दल–दलमा फसाएर मधेश र मधेशीको प्रगतिलाई ब्रेक लगाउन खोजिँदै छ । केही नेताहरु मधेशलाई भारतको ‘बिहार’ समतुल्य बनाएर आफू त्यसको ‘नितिश पासवान“ बन्ने सपना बुन्दै छन् । दुर्भाग्य मधेशी जनता, नेता र मधेशी बौद्धिक वर्ग सबै यो षड्यन्त्रको भुमरीमा कैद भइसकेका छन् ।

हामी सबै मधेशी हौं भन्ने जनभावनाको हत्या गरेर मधेशी जनताका बीच जातीय संघर्षको विजारोपण गरिँदै छ । जो पछि गएर विशाल विषालु वृक्षको रूप लिने निश्चित छ । मधेशी जनता, नेता र बौद्धिक वर्गले यो कुरा बुझ्नु अति आवश्यक छ कि जातिय मुटभेडले समाज प्रतिगमनतिर चिप्लिन्छ । जातीय मूटभेडबाट ग्रसित समाजले केवल भ्रष्टाचारी, बेईमान, हत्यारा, बलात्कारी, गुण्डा र बदमासहरुलाई जन्म दिन्छ ।

अब हामी सबैले आँखा खोल्नु पर्दछ, हामी सबै मधेशी एक भएर जातीय मुटभेडको प्रोपेगेन्डालाई ध्वस्त पार्नु पर्दछ । हिजो हामी सबै मिलेर एक भएर ‘मधेशी पहिचान’ को लामो लडाई लड्यौं, अहिले आएर एक आपसमै जातीय संघर्ष गरेर ‘मधेशी पहिचान’ को लामो लडाई र संघर्षबाट प्राप्त उपलब्धिलाई गुमाउन मिल्दैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस