हनुमानगर कंकालिनीका वडाध्यक्ष मण्डलद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० का वडाध्यक्ष रामलखन मण्डलले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका छन् ।

वडाध्यक्ष मण्डलले बुधबार कोभिड–१९ विरुद्धको खोप लगाइरहेका स्वास्थ्य चौकी इनर्वाका प्रमुख प्रमोदकुमार मण्डलमाथि दुर्व्यवहार गरेका हुन् । ‘खोप लगाइरहेको बेला हैकमवादी शैलीमा प्रस्तुत हुँदै वडाध्यक्ष मण्डलले आफुलाई दुर्व्यवहार गर्नुभयो’ प्रमुख प्रमाेदले भने, ‘कसलाई सोधेर खोप लगाउन सुरु गरेको भन्दै अपशब्द नै प्रयोग गर्नुभयो ।’

पछि वडाध्यक्षले आफ्नो कक्षमा बोलाएर पनि अनापसनाप सुनाएको प्रमुख प्रमोदले गुनासो गरे । ‘कोभिड–१९ विरुद्धको खोप अत्यावश्यक कार्य रहेकोले आफ्नो दायित्व निर्वाह गरिरहेको भनिरहदा पनि उहाँ उग्र भएर अनापसनाप सुनाइरहनुभयो’ उनले भने, ‘स्वास्थ्यतर्फको अत्यावश्यक कार्यमा उहाँलाई बाँधा पुर्याउनु छ भने मलाई भन्नु केही छैन् तर अत्यावश्यक कार्य गरिरहदा पनि दुर्व्यवहार खेप्नुपर्दा दुःखी छु ।’

घटनापछि आफुले स्वास्थ्य शाखामा पनि जानकारी गराइसकेको भन्दै प्रमुख मण्डलले जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको स्वास्थ्यकर्मीलाई बाँधा अवरोध नगर्न वडाध्यक्षसँग आग्रह गरे । ‘स्वास्थ्य क्षेत्र त संवेदनशिल हो नि, उहाँले हामीलाई झन प्रोत्साहित गर्नुपर्ने हो’ उनले भने, ‘तर यस्ता घटनाले समग्रमा स्वास्थ्यकर्मीको मनोबल कमजोर भएको छ।’

उता, गत आइतवारदेखि नै जनप्रतिनिधिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नगरपालिका कार्यालय र मातहतका कर्मचारीहरु आन्दोलित छन् । कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरी जनप्रतिनिधिहरुले सार्वजनिक रुपमा चरित्र हत्या गरेको र अभद्र व्यवहार गर्ने गरेको आरोप लगाउँदै अत्यावश्यक सेवा बाहेकका कामकाज ठप्प राखेका छन् ।

वडा नम्वर १० का वडाध्यक्ष रामलखनले शिक्षा मात्रै सुचारु रहेको बेला कार्ड बनाइरहेको पाइएपछि सोधखोज गरेको बताए । ‘स्वास्थ्य सेवा बन्द रहेको बेला कार्ड किन बनाइरहेको थियो?, शिक्षा मात्रै सुचारु छ, अहिले स्वास्थ्य सेवा पनि बन्द छ’ उनले भने, ‘मैले त्यहीँ भने तपाईहरुले स्वास्थ्य सेवा बन्द गरेको बेला कार्ड किन बनाइरहनुभएको छ, मैले दुर्व्यवहार गरेको छैन्, मनगढन्त कुरा हो।’

तर, स्वास्थ्य सेवा त अत्यावश्यक हो नि अध्यक्ष ज्यू, फेरी कर्मचारीहरु आन्दोलित हुँदा अत्यावश्यक सेवा त बन्द नगर्ने भनेर भनिसकेको छ त? भन्ने प्रश्नमा वडाध्यक्ष मण्डले भने, होइन शिक्षा मात्रै सुचारु हो, अरु कुरा वडा कार्यालयमै आएर बुझ्नुस् ।

Author:



क्याटोगरी छान्‍नुहोस