उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

जनकपुरधाम, ३ चैत्र । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का  रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।

नेकपा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । त्यस्तै, जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बने । २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस