बारा–२ र तनहुँ–१ मा पनि १० वैशाखमै उपचुनाव गर्ने आयोगको निर्णय

जनकपुरधाम – निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

यसअघि नै आयोगले चितवन–२ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

१० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने गरी निर्वाचनको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

गत फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो भने चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा–२ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै, नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन–२ मा पनि उपनिर्वाचन हुन लागेको हो । आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस