रास्वपाका प्रमुख सचेतकले संसदमा मागे माफी

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उक्त घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन् । ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

तर, यस्तो घटना पहिलो पटक भने नभएको उनको भनाइ छ । ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ’ प्रमुख सचेतक परियारले भने ।

रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको परियारले संसदमा जानकारी गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस