सपथअघि सिंहलाई माल्यार्पणको अर्थ

सन्तोष कुमार चौधरी

सन्तोष कुमार चौधरी

प्रतिनिधिसभा बारा २ निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद र आभार दिँदै देश भ्रमणमा निस्केका नवनिर्वाचित सांसद उपेन्द्र यादव पद तथा गोपनीयताको सपथ लिन राजधानीतर्फ लाग्नुअघि राजविराजमा स्व. गजेन्द्र नारायण सिंहको प्रतिमामा माल्यार्पण गरेका छन् । जनता समाजवादी पार्टीका राष्ट्रि«य अध्यक्ष यादवले स्व. सिंहलाई माल्यार्पण गरी आफ्नो नयाँ कार्यकालका लागि सपथ लिनु एक महत्वपूर्ण राजनीतिक घटना हुन सक्छ । शिष्टाचारको प्रदर्शन गर्नुमा पनि विशेष कारण वा अर्थ निहित रहेको हुन्छ भने सामान्य झैं देखिएको उक्त घटनालाई विगतको आधारमा हेर्दा अनेक अर्थ बयान गर्दछ ।

उपेन्द्र यादवले गजेन्द्र नारायण सिंहलाई फूलमाला चढाएर उनको पदचिन्ह खोजेका हुन् कि ? सिंहले छोडेर गएको विरासत सम्हाल्ने कसरत हो कि ? सिंहले दशकौं संघर्ष गरी खडा गरेको धरोहरको रक्षार्थ हो कि ? सिंहको अवसानले उत्पन्न गरेको नेतृत्व रिक्तताको पूर्ति निमित्त हो कि ? कि सिंहलाई समग्रमा बुझ्ेर उनले अपनाएका नीतिको अनुसरण गर्नलाई हो कि ? सिंह र यादव अघि र पछिका पुस्ता हुन्, उनीहरूबीच तुलना गर्नुपर्ने खास कारण देखिन्न । तर यी दुई पुस्ताबीचको अन्तरसम्बन्धको विषयमा भने चर्चा हुनसक्छ । यी दुई व्यक्तित्वबीच समान र असमान अनेक कुराहरू छन् । उपरोक्त घटनाको अर्थ उनीहरूबीचको असमान कुराहरूको संख्या अब घट्दै जाने हो कि ?

गजेन्द्र नारायण सिंह नेपाली कांग्रेसमा सामेल भएर एक क्रान्तिकारी योद्धाको रूपमा राजनीति आरम्भ गरेका थिए । उपेन्द्र यादवको राजनीतिक अग्रसरता वाम आन्दोलनकारीको रूपमा भएको थियो । दुवै नेताको राजनीतिक विचारधारा भिन्न भए पनि दुवै आधारभूमि मधेश भएकोले मधेशको कोर्स पार गर्दै यिनीहरू राष्ट्रिय राजनीतिमा उदाएका हुन् । मधेशका नेता मधेशको परिस्थितिबाट अप्रभावित रहन सक्दैनन् । मधेशको भावनाबाट पृथक व्यक्ति मधेशको नेता बन्न सक्दैनन् । आफ्नै भूमि र आफ्नै समुदायको भरोसा नभएको व्यक्तिमाथि देश पनि भर पर्दैन ।

गजेन्द्र नारायण सिंहको जन्म सन् १९२९ मा र उपेन्द्र यादवको १९६१ मा भयो । जतिखेर सिंहले राजनीतिक क्षेत्रमा पहिलो पाइला चाले, त्यतिखेर यो देश राणाको शासनलाई समाप्त पारेर लोकतन्त्रको स्थापना गर्न निमित्त संघर्षरत थियो । र, जतिखेर यादव राजनीतिमा आए, त्यतिखेर यो देश राजाको शासनलाई समाप्त पारेर लोकतन्त्रको पुनस्र्थापनासँगै गणतन्त्रको स्थापना निमित्त संघर्षशील थियो । राज्यमा मधेश र मधेशी समुदायको उचित भागीदारीको सवाल राणा–कालमा पनि थियो, तर मुखरित हुन सकेको थिएन । त्यसैले सन् १९५१ मा राणाविरुद्धको क्रान्ति सफल हुनासाथ मधेशको मुद्दा मुखर हुन थाल्यो । तराई कांग्रेस, मधेशी जनक्रान्तिकारी दल, तराई मुक्ति मोर्चाजस्ता संगठन परिवर्तित समयको देन हो ।

गजेन्द्र नारायण सिंहले सन् १९७८ मा नेपाली कांग्रेस छाड्दै मधेशी राजनीतिक मञ्चको रूपमा पूर्वाञ्चल कांग्रेस गठन गरे । सन् १९८० मा देशमा विद्यार्थी आन्दोलन चर्कियो । त्यतिबेला उनले नेपाल सद्भावना विद्यार्थी परिषद् गठन गरे । सन् १९८२ पञ्चायती सरकारले वर्क परमिट लागू गर्ने निर्णय गर्यो, जसको उद्देश्य नागरिकता प्रमाणपत्र नभएका व्यक्तिलाई रोजगारीबाट वञ्चित गर्ने, अचल सम्पत्ति खरिद गर्न रोक्ने, बच्चाको जन्मदर्ता रोक्ने, बैंकमा खाता खोल्न नदिने आदि सुविधाहरूबाट वञ्चित गरी देशबाट पलायन गर्न विवश तुल्याउनु थियो । वर्क परमिट कानूनलाई रोक्न नेपाल सद्भावना परिषद् गठन गरे । सन् १९९० को जनआन्दोलन सफल भई बहुदलीय लोकतन्त्रको पुनस्र्थापना भएपछि त्यही परिषद्लाई राजनीतिक दलमा परिवर्तित गरी नेपाल सद्भावना पार्टी बनाए ।

गजेन्द्र नारायण सिंहले आफैंले मधेश मुद्दाको किटान गरेका थिएनन् । रामजन्म तिवारीले तराई कांग्रेस, रघुनाथ ठाकुरले मधेश जनक्रान्तिकारी दल र कृष्णदेव रायले तराई मुक्ति मोर्चा बनाएर दशकौंदेखि गरी आएको संघर्षले मधेश मुद्दाहरूको पहिचान गरेको थियो । ती संघर्षहरूमा सयौं मधेशी युवाले बलिदान दिएका थिए । ती बलिदानहरूले मात्र सिंहलाई मधेशको मुद्दा लिएर अघि बढ्न प्रेरित गरेको थिएन, अपितु मधेश जनक्रान्तिकारी दलका अध्यक्ष रघुनाथ ठाकुरको रहस्यमय निधनबाट नेतृत्वविहीन अवस्थामा पुगेको मधेश आन्दोलनको कमान थाम्नुपर्ने कुराले पनि उनलाई वाञ्छनीय तुल्यायो ।

सन् २००२ जनवरी २३ मा गजेन्द्र नारायण सिंहको निधनले मधेश आन्दोलनमा उत्पन्न गरेको नेतृत्वको रिक्तता पनि उपेन्द्र यादवका सामु पूर्वावस्थाकै पुनरावृत्ति थियो । नेपाल सद्भावना पार्टी विभाजित भयो, जसको एउटा घटक राजा ज्ञानेन्द्रको पछि र अर्को घटक सात दलको पछि लाग्न जाँदा मधेश आन्दोलनको नेतृत्व नै गुम्न गयो । त्यसको ज्वलन्त उदाहरण नेपालगन्ज साम्प्रदायिक घटना थियो । नेपालगन्ज घटनाले उत्पन्न गरेको आक्रोश मधेश आन्दोलनको लागि ठूलो ऊर्जा हुन सक्थ्यो । तर विभाजित सद्भावना पार्टीहरूले त्यस घटनालाई नेतृत्व दिन सकेन । फलस्वरूप मधेश आन्दोलनलाई नयाँ नेतृत्व अपरिहार्य भइरहेको थियो ।

गजेन्द्र नारायण सिंहले रिक्त गरेर गएको मधेश आन्दोलनको नेतृत्व भर्ने काम तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवले गरे । यादवले सन् १९९७ मा गठन गरेको मधेशी जनअधिकार फोरम त्यतिबेला मधेश आन्दोलनको धार बनिसकेको थिएन, बल्कि माओवादी जनयुद्धकै सहयात्रीको रूपमा थियो । अध्यक्ष यादव आफै पनि भूमिगत थिए । ६२÷६३ को आन्दोलन तथा जनयुद्धको समाप्तिपश्चात राष्ट्रिय राजनीतिले नयाँ आकार लिइरहेको सन्दर्भमा फोरमले मधेशलाई आफ्नो स्टेण्ड बनाएर अघि बढेको थियो । सन् १९९७ मा गठित मधेशी जनअधिकार फोरम सन् १९८२ मा गठित नेपाल सद्भावना परिषद्कै प्रतिरूप थियो ।

सामुदायिक मञ्चको रूपमा गठित नेपाल सद्भावना परिषद् पछि राजनीतिक दलमा रूपान्तरित भए झैं मधेशी जनअधिकार फोरम पनि पछि राजनीतिक दलको रूपमा परिवर्तित भयो । उपेन्द्र यादव संयोजनमा विराटनगरमा आयोजित एक भेलाले नेपालको सामाजिक, आर्थिक र राजनीतिक समस्याको समाधानका लागि सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यले फोरमको गठन गरेको थियो । मधेशमा वर्क परमिटको खिलाप उत्पन्न आक्रोशलाई लिएर सिंहले मधेश आन्दोलन अघि बढाए झैं संघीयतारहित अन्तरिम संविधानको खिलाप उत्पन्न आक्रोशलाई लिएर यादवले मधेश विद्रोह थाले । सन् २००७ जनवरी १५ मा जारी अन्तरिम संविधानद्वारा संघीय पद्धति आत्मसात नगरिँदा उत्पन्न मधेश विद्रोह उपेन्द्र यादवको देन हो । र, त्यस्तै मधेश विद्रोहको कारण संघीय पद्धति वाञ्छनीय हुन सकेकोले त्यो पनि उनकै देन हो ।

गजेन्द्र नारायण सिंह आफ्नो समयको एक्लो नेता थिए, जसले मधेश आन्दोलनलाई सम्पूर्णतामा नेतृत्व गरिरहेको थियो । आन्दोलनकारी नेताहरू उनका सहायक र शिष्यहरू थिए । हुनत उपेन्द्र यादवको समयमा मधेश आन्दोलनलाई नेतृत्व दिनेदेखि लिएर आफ्नो बलबुतामा आन्दोलन गर्नेसम्म क्षमता र संगठन भएका अनेक संगठन र दलहरू थिए । सद्भावनाबाटै विभाजित अनेक दल थिए । भूमिगत सशस्त्र संगठनहरू पनि छुट्टै थिए । चुनावहरूमा भाग लिने क्षमताको मधेश केन्द्रित दलको संख्या एक समय १३ पुगेको थियो । यादवभन्दा निकै अघिदेखि मधेश आन्दोलनमा संलग्न रही आएका अनेक नेताहरू थिए । कांग्रेस, एमाले, राप्रपा आदि देशव्यापी पार्टीहरूबाट अनेक नेताहरू आएका थिए ।

आन्दोलनको श्रेय सबैले पाउने हुन् । तर राजनीतिक भूमिकामा खोजी गर्ने हो भने ती सबै दल, संगठन वा नेताहरूको उपस्थिति देखिदैन । राजनीति पेशा होइन, सेवामात्र पनि होइन, पूर्ण अर्थमा यो एक अभियान हो, व्यक्तिगत र सामुहिक अभियान । राजनीतिक जीवनको सफलता चुनावी हार वा कुनै पनि कारणले प्रभावित हुनबाट बचाई त्यसलाई निरन्तरता दिनुमा निहित रहन्छ । र, कुनै पनि अभियानको निरन्तरताका लागि गन्तव्य र गतिशीलता अपरिहार्य हुन्छ ।

गजेन्द्र नारायण सिंहको दृष्टिमा मधेश आन्दोलनको कुनै सीमा थिएन । आज पनि मधेश आन्दोलनको सीमा सुनिश्चित गर्न गाह्रो छ । राजनीतिमा त धेरै हुन्छन् तर राजनीतिमा जीवनपर्यन्त अपरिहार्य पात्रको हैसियत सबैले बनाउन सक्दैन । गजेन्द्र नारायण सिंहको व्यक्तित्वमा त्यो कुरा थियो र त्यो गुण उपेन्द्र यादवमा पनि रहेको देख्न सकिन्छ ।

गजेन्द्र नारायण सिंहले सांस्कृतिक पहिचान, नागरिकता, आरक्षणजस्ता मधेश आन्दोलनका प्रारम्भिक मुद्दाहरूमाथि काम गरेका थिए । उनको “गर्व से कहो, मधेशी हैं” नारा निकै चर्चित भयो । मधेशको सांस्कृतिक पहिचान कायम भएको छ । नागरिकता समस्याको समाधान विशिष्ठ विन्दुमा पुगेको छ । अन्तरिम संविधानबाट समावेशी राज्यको उद्घोषणा एक तरहले आरक्षण आन्दोलनकै हिस्सा हो । यी कुराहरू गजेन्द्र नारायणकालको उपलब्धि हो । उनले संघीयताको अर्थमा तत्काल आंशिक अधिकारको प्रचलित मोडल स्वायत्त शासनको माग अघि सारेका थिए । उनको दस्तावेजमा पूर्व पहाड, पश्चिम पहाड, पूर्व तराई र पश्चिम तराई तथा काठमाडौं उपत्यका गरी पाँचवटा प्रान्तीय स्वशासनको उल्लेख रहेको देखिन्छ । सिंह स्वायत्त शासनको विषयमा कमै बोल्ने गरेका देखिन्थे ।

संघीयताको कुरा गरी रहँदा रघुनाथ ठाकुरले मधेशी जनताले आत्मनिर्णयको अधिकारको प्रयोग गर्न पाउनुपर्ने कुरा गरेका थिए । मधेशी समुदायलाई आफ्नो राजनीतिक प्रणाली सुनिश्चित गर्न मतदानको अधिकार र अवसर दिनुपर्छ भन्ने उनको विचारको समर्थन धेरै मधेशी नेताले गरेका थिए । पुस्तक पनि लेखेका थिए । उपेन्द्र यादव पनि तीमध्येकै नेता हुन् ।

आत्मनिर्णयको अधिकार माग गर्ने पहिलो व्यक्ति रघुनाथ ठाकुर हुन् । सन् १९५२ मा नै उनले आत्मनिर्णयको अधिकारको आवाज उठाएका थिए । गजेन्द्र नारायण सिंहले आत्मनिर्णयको अधिकारको कुरा गर्नुभन्दा स्वायत्तशासनलाई समिचीन ठाने । उपेन्द्र यादव आरम्भदेखि नै आत्मनिर्णयको अधिकारको वहश गर्दै आएका थिए, तर तत्काल संघीयता सही ठहराए । गत जन आन्दोलनमा मधेशमा संघीयताको नारा स्वस्फूर्त रूपमा घन्किन थाल्यो । संघीयता उपर चर्चा र छलफल बढेसँगै आत्मनिर्णय अधिकारको कुरा ओझेलमा पर्दै गयो ।

आत्मनिर्णयको अधिकार र संघीयताको बुझाइमा भ्रम पर्न सक्छ । संघीयता गत जन आन्दोलनमा मधेशको थप मागको रूपमा जोडिएर आएको हो । जन आन्दोलनले अरु विषयलाई जुन विधिले रूपान्तरण गर्छ, संघीयताको स्थापना पनि सोही विधिबाट हुन्छ । तर आत्मनिर्णयको अधिकार भनेको मधेशी समुदायले निर्वाचन विधिबाट आफ्नो राजनीतिक प्रणाली तय गर्न पाउनुपर्छ भन्ने थियो । संघीयताको बहालीसँगै आत्मनिर्णयको अधिकारको मुद्दा समाप्त भयो भन्ने होइन, यसको भविष्य संघीयताको सफलता वा विफलतामाथि निर्भर गर्दछ ।

संघीयताको सफलतामा सबै राजनीतिक शक्तिको योगदान अपरिहार्य छ । त्यसको संयोजन गर्ने दायित्व सबैको हो । संघीय विचारधारा जस–जसको हो, ती सबै व्यक्तिले योगदान गर्ने अवसर पाएका छन् । तर बहुतायत व्यक्ति, जसको नैतिक दायित्व र जिम्मेवारी हो, त्यसमा उपेन्द्र यादव पनि पर्छन् । मधेश आन्दोलनको वर्तमान मुद्दा संघीयताको रक्षा र यसको संस्थागत विकास हो ।

कुनै पनि आन्दोलन र अभियानलाई नेतृत्व गर्न आवश्यक पर्ने गुण र विशिष्टता उपेन्द्र यादवमा नभएको होइन । तर कतिपय मोर्चामा उनी आफूलाई अपर्याप्त पाए, त्यतिखेर उनको व्यवहारिक अनुभवको अप्रयोग वा कमी रहेको देखियो । गजेन्द्र नारायण सिंहको जीवन सफल रह्यो । उनी कसैको पक्षमा अवश्य पनि थिए तर कसैको विपक्षमा थिएनन् भन्ने कुरा देश र विदेश सबैले स्वीकार गरेको विषय हो । उनको सफलताको पछाडि उनको व्यवहारिक र लचिलो नीतिको धेरै महत्वपूर्ण स्थान रह्यो । साथै उनले भूराजनीतिक अवस्थालाई अस्वीकार गर्ने काम कहिल्यै पनि गरेनन् । बल्कि भू–राजनीतिक अवस्थालाई नै आफ्नो राजनीतिको आधार बनाए ।

गजेन्द्र नारायण सिंहको विचार, नीति, कार्यहरू अध्ययन र अनुसन्धानको विषय हो । उपेन्द्र यादवको दृष्टिमा सिंहलाई माला पहिराइनु उचित छ भने उचित नै छ । सिंहलाई माला अर्पण गर्दै सपथ ग्रहण यात्रा प्रारम्भ गर्नुको अर्थ उनको नयाँ अवतरण हुनसक्छ । यो समयले दिएको अवसर हो । मधेश, देशको समानान्तर वा छोटा वा बडा होइन । देश र मधेश एक अभिन्न अस्तित्व हो । मधेश वा मधेशीलाई निच देखाउने प्रवृत्ति अझै पनि समाप्त भएको छैन । त्यस्तै उदीयमान मधेशी नेतालाई हीनताबोध गराउने कुचेष्टा पनि हुँदै आएकै हो । मधेशी भनिएको वा मधेशको पक्षपोषण गरेकोमा निच कर्म गरेको आभाष दिलाइन्छ । यस प्रकारको हीनताबोधबाट ग्रसित हुन पुग्ने व्यक्तिको स्थिति ‘घरको न घाटको’ हुन्छ । तर जसले आफूलाई त्यस्तो भ्रमजालबाट जोगाउन सफल हुन्छ, ऊ सफल हुन्छ ।

जसले मधेश एवं देशलाई समान भावले माया गरेर अघि बढ्छ त्यही व्यक्ति मधेशको मसिहा र देशको दिक्पाल कहलाउन सफल हुन्छ । गजेन्द्र नारायण सिंहलाई मधेश र देशले यसै रूपमा सम्मान प्रदान गर्यो । गजेन्द्र नारायण सिंहले जीवनपर्यन्त राजनीति, मधेश र देशका लागि काम गरी रहे झैं उपेन्द्र यादवले पनि जेजस्तो अडचनको सामना गर्नु परे पनि आजन्म राजनीति, मधेश र देशको लागि काम गरी रहने छन् । तर त्यसलाई सरलता र सफलतापूर्वक परिणाममा पु¥याउन सिंहले अख्तियार गरेका नीति यादवका लागि सहायक हुनेछ । सिंहको प्रतिमामा धेरैले माला लगाए, लगाउने पनि छन् । तर तीमध्ये कुन चाहीँ माल्यार्पण ऐतिहासिक घटना सिद्ध हुन सक्छ त ?

Author:



क्याटोगरी छान्‍नुहोस